संसदीय समितिमा परराष्ट्रमन्त्रीले भने, ‘एसपीपीको च्याप्टर क्लोज भइसक्यो’


२०७९ असार ३ शुक्रबार ०६:४८ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को विषय ‘च्याप्टर क्लोज’ भइसकेको कारणले अब यसलाई कोट्याउन र खोतलखातल गर्न जरुरी नभएको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी हुँदै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट अघि बढ्दैन भनेपछि खोतल्न आवश्यक नभएको बताएका हुन् । बैठकमा उपस्थित परराष्ट्र मन्त्री खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दै नेपाललाई स्वीकार्य नभएको बताएका छन् ।

‘यो टुंगिएको विषय हो । कसको पालामा के भयो भनेर खोज्न जाने हो भने हामी सबैले मम भन्दै जिम्मेवारी लिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसकारण यसको च्याप्टर क्लोज भइसकेको छ । फेरि खोतलखातल पारेर हेर्न थालियो भने कसका लागि भन्ने? प्रधानमन्त्रीको तहबाट हुँदैन भनिसकेपछि यसलाई फेरि खोतल्न पर्दैन् ।’

‘यो नेपालको हितमा छैन, स्वीकार्य पनि छैन’, उनले भने । उनले यसबारेमा प्रधानमन्त्री, गृहमन्त्री र जंगी अड्डाले पनि स्पष्ट पारेकाले थप बहस गर्नुको औचित्य नरहेको बताए ।

‘नेपाल भूराजनीतिमा अति संवेदनशील छ, संयुक्त राष्ट्र संघको सदस्य पनि भएकोले यस्ता कुनै पनि प्रकारको सामरिक सैन्य रणनीतिमा जान सक्दैन’, उनले भने, ‘यसको च्याप्टर क्लोज भयो, खोतलखातल गर्न जरुरी छैन ।’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७