माधव नेपालको अडान : हस्ताक्षर फिर्ता हुन्न, अदालतको फैसलालाई प्रभावित पारिन्नँ


२०७८ असार २६ शनिबार १७:२० बजे

काठमाडौं, २६ असार । नेकपा एमालेको विवाद समाधानका लागि आन ११ औं दिन कार्यदलको वैठक बसिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना दुई अडान कायमै रहेको बताएका छन् ।

उनले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नहुने र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने काम नहुने आफ्नो अडान कायमै रहेको बताएका छन् ।

पार्टी एकताका लागि वार्तामा रहेका आफू पक्षका कार्यदलका सदस्यहरूसँग कोटेश्वरमा भेटेपछि नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने कुनै काम गर्न नहुने र सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नहुने अडान दोहोर्‍याएका हुन् । स्वास्थ्यमा समस्या आएपछि वरिष्ठ नेता केहि दिनयता घरैमा आराम गरिरहेका छन् । उनलाई जनै खटिरा आएको उनको सचिवालयले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । ‘अहिले हाम्रो दुई बटमलाइन हो,’ नेता नेपालले भने, ‘सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्ने कुनै काम गर्नु हुँदैन, सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन ।’

लगातार छलफल गरेर सहमति नजिक पुग्यौं भनेका कार्यदलका सदस्यहरू सहमतिको मस्यौदा देखाउन नेता नेपाल समक्ष गएका थिए । उनलाई भेट्नुअघि कार्यदल सदस्यहरूले आ–आफ्ना समूहमा छलफल गरेका थिए । उनीहरू नेपाललाई भेटेर फर्किएपछि अहिले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक जारी छ ।

यसअघि शनिबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि नेता नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए । तर, नेता नेपालका स्वकीय सचिव मोहन गौतमले विज्ञप्ती मार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको जानकारी गराएका छन् । उनले दुई नेताहरूबीच अन्य विषयमा कुराकानी नभएको पनि प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धनमा रहेको नेपाल समूह शक्ति सन्तुलनमा निर्णायक बनेको छ । त्यसैले सोमबार अदालतको फैसला आउनुअघि नै नेपाल समूहसँग एकता गरेर प्रतिनिधि सभामा आफूहरूको उपस्थिति बलियो बनाउने तयारी ओलीको छ ।

यस्तै देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालत पुगेको विपक्षी गठबन्धन पनि नेपाल समूहबिना सरकार बनाउन सक्ने अवस्थामा छैन । त्यसैले अहिले विपक्षी गठबन्धनले नेता नेपाल र एमालेको ओली समूहले कार्यदलका अरू सदस्यमार्फत आ–आफ्ना समूह बलियो बनाउने गरी संवाद गरिरहेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७