‘रअ’ प्रमुख आउनुको यस्तो पो रै’छ रहस्य ?


०९:३१ बजे

काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो ।

प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपुर्‍यायौं । अब प्रचण्डलाई पार्टी बुझाउने कुरै हुँदैन । उसलाई बुझाउने कुरा सपनामा पनि नचिताए हुन्छ ।’

माधव नेपाललाई फकाउने नाममा प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डको राम्रैसँग बद्ख्वाइँ गरे । ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको भ्रमणबारे पनि जमेरै छलफल भयो । माधवले भने, ‘तपाईंले यो ठीक गर्नु भएन । म प्रधानमन्त्री र पार्टी प्रमुख भइसकेको मान्छे । यो रुपमा, खुल्लमखुला पार्टीको हुर्मत लिने काम राम्रो भएन ।

हिजो जसरी आफूलाई मेन्टेन गरिरहनु भएको थियो, जुन इमेज बनाइरहनु भएको थियो, सोच्नु भएको छ, यो भ्रमणपछि तपाईंको इमेज कस्तो भयो ? मान्छेहरूले तपाईंबारे के धारणा बनाएका छन् ? बुझ्नु भएको छ ?’ माधवले भने, ‘आज भारतीय गुप्तचर प्रमुखसँग यसरी भेट्नु भयो । भोलि पाकिस्तानी आइएसआईका प्रमुख आउलान् । के तिनलाई त्यसरी नै भेट्नु हुन्छ ?’

माधवको भनाइ थियो, ‘तपाईंलाई जे गर्न मन लाग्यो, त्यही गर्ने ? मलाई केही पनि चाहिँदैन । तपाईंको आश्वासन पनि चाहिएन । केही दिनै पर्दैन । मैले प्राप्त अवसरहरू पहिल्यै सदुपयोग गरिसकेको छु । विधि, प्रक्रिया र नीतिमा चल्नुस् । तपाईंले सबै कुराको ख्याल गर्नु भएको छैन । यसले राम्रो गरेको छैन, गर्दैन । यो तरिकाले पार्टी कहीं पनि पुग्दैन ।’

प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँगको भेटबारे स्पष्ट पारे, ‘मोदीजीले एकजना मान्छे पठाउँदै छु भन्नुभयो । को हो भनेर सोधिखोजी गर्ने कुरा पनि भएन । आएपछि पो थाहा भयो, ‘रअ’ का प्रमुख पो रहेछन् ।’

यो कुरालाई टिप्पा दिँदै माधव नेपालले भने, ‘यस्ता केटाकेटी कुरा नगर्नुस् । केही नबुझ्ने, केही नजान्ने जस्तो ढाँट, छल र कपटका कुरा गरेर केटाकेटी पारा नदेखाउनुस् । त्यो सुनियोजित भेट थियो । त्यसले के सन्देश दिन खोजेको छ भन्ने कुरा पनि छर्लङ्गै छ ।’

ओलीले सीमा विवाद वार्ताबाट सुल्झाउने कुरा भएको र परिणाम पनि राम्रै आउने आशा रहेको बताए । ओलीले पटक–पटक माधवसँग सहकार्यका लागि आग्रह गरे । जनआस्था साप्ताहिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७