मलेसियामा नेपालीलाई बन्धक बनाई १५ लाख फिरौती असुल्ने डेभिड काठमाडौंमा पक्राउ

काठमाडौं, १४ असोज । मलेसियामा नेपाली श्रमिकलाई अपहरण गरी बन्धक बनाएर फिरौती असुल्ने एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तेह्रथुम घर भएका डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाली श्रमिकलाई बन्धक बनाई रकम असुलेको अभियोगमा पक्राउ गरेको हो ।
४४ वर्षीय श्रेष्ठ मलेसियास्थित टप ग्लोब कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरेर बस्थे । नेपाल आएको मौका छोपी मंगलबार सीआईबी टोलीले उनलाई पक्राउ गरेको हो ।
श्रेष्ठसहित उनकी श्रीमती भुटान माइतीघर भएकी धनमाया श्रेष्ठ तथा सवारी चालक मिलेर दाङको पहरुवाका मध्म रैदासलाई मलेसियामा अपहरण गरेको जाहेरी परेको थियो ।
उनीहरुले ७ दिनसम्म बन्धक बनाएर दुर्गाबहादुर श्रेष्ठको नाममा रहेको हिमालयन बैंकको खातामा ६० हजार रिंगिट जम्मा गरिदिनु भन्दै उनकी श्रीमतीलाई धम्की दिएको उजुरीमा उल्लेख छ । रकम जम्मा नगरिदिए श्रीमानलाई मारिदिने समेत धम्की दिएपछि उनकी श्रीमतीले पटक-पटक गरी १५ लाख ९२ हजार रुपैयाँ जम्मा गरेकी थिइन् ।
रकम जम्मा गरेपछि उनीहरुले रैदासलाई अपहरणमुक्त गरे पनि उनीहरुले पासपोर्ट कब्जा गरेर नेपाल फर्किन दिएका थिएनन् । पासपोर्ट नहुँदा रैदास नेपाल फर्किन सकेका थिएनन् ।
दुर्गाबहादुर हाल नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा बा १४ च २११२ नं. को भक्सवागन कम्पनीको जीपमा चढी बाँसवारीबाट पानीपोखरीतर्फ गइरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।