काठमाडौं महानगरपालिकाको राजस्व तेब्बरले बढ्यो


२०७६ चैत ८ शनिबार २१:०८ बजे

वीरगञ्ज, ८ चैत । पछिल्ला पाँच वर्षमा काठमाडौं महानगरपालिकाको राजस्व संकलन तेब्बरले वृद्धि भएको छ ।

संघीयता कार्यान्वयनसँगै महानगरपालिकाको क्षेत्राधिकारमा वृद्धि, करमैत्री नीति, प्रभावकारी कर शिक्षा र निर्वा्चित जनप्रतिनिधिको कार्य प्रभावबाट राजस्व संकलन वृद्धि भएको महानगरपालिकाले जनाएको छ ।

करको दायरा बढाइएका कारण राजस्व संकलन बढेको राजस्व विभागका प्रमुख नूरनिधि न्यौपानेले बताए । उनीले भने, ‘करको दर बढेको छैन, दायरा बढाइएको हो, हामीले करलाई सेवासँग जोडेका कारण पनि कर तिर्ने अभ्यास बढेको छ ।’

चालू आर्थिक ०७६–७७ को माघसम्म महानगरपालिकाले पाँच अर्ब ५२ करोड रुपैयाँ राजस्व असुली गरेको छ । आव ०७५–७६ मा सात अर्ब ४८ करोड रुपैयाँ राजस्व असुली गरेको महानगरको राजस्व विभागका उपनिर्देशक शिवराज अधिकारीले जानकारी दिए ।

त्यसको ठीक चार वर्षअघि आर्थिक वर्ष ०७२–७३ मा दुई अर्ब ७४ करोड मात्रै राजस्व असुली भएको थियो । आव ०७५–७६ मा महानगरले आफ्नै स्रोतबाट मात्रै ६ अर्ब १० करोड ९७ लाख आम्दानी गरेको थियो ।

महानगरले दायरा बढाएर कर संकलन गरिरहेको विभागका उपनिर्देशक अधिकारीले बताए । यसबाहेक महानगरपालिकाले कर तिर्दा गर्ने जरिवानामा छुट, कर वर्ष घोषणा र कर शिक्षा अभियानलगायत कारणले पनि कर संकलन बढेको विभागले जनाएको छ । काठमाडौं महानगरपालिकाले घरजग्गा, व्यवसाय, बहाल, विज्ञापन र मनोरञ्जन कर असुली गर्छ ।

सवारी कर, शौचालय शुल्क, पार्किङ शुल्क, उद्यान पार्क प्रवेश शुल्क, नक्सापास दस्तुर, सम्पत्ति मूल्यांकन सेवा दस्तुर, निवेदन दस्तुर, दर्ता दस्तुर, फारम बिक्री, मालसमान लिलामलगायत डेढ दर्जन बढी शीर्षकबाट महानगरपालिकाले आम्दानी गर्ने गरेको छ ।

वार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्ने महानगरपालिकाले बजेट खर्च भने उल्लेख्य रूपमा गर्न सकेको छैन । महानगरपालिकाको पाँच अर्बभन्दा बढी रकम बैंकमा थन्किएको छ ।

एक अर्बभन्दा बढी रकम मुद्दति खातामा राखेको महानगरको राजस्व विभागका उपनिर्देशक अधिकारीले बताए । महानगरपालिकाले बैंक ब्याजबाट मात्रै वार्षिक करोडौँ रुपैयाँ आम्दानी गरिरहेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म मात्रै ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने महानगरपालिकाको केही रकम मुद्दती खातामा राखे पनि त्यसमा गलत नियत रहेको स्पष्ट पारे । ‘हामीले मुद्दती खातामा राखे पनि तुरुन्तै झिक्न मिल्ने गरी राखेका छौँ, त्यसबाट वार्षिक ९.५ प्रतिशत ब्याज आएकै छ, यसले महानगरलाई फाइदा नै भइरहेको छ ।’ उनले महानगरपालिकाले कमाएको राजस्व महानगरको हितमै मात्र खर्च हुने बताए ।

महानगरपालिकाले घरबहाल, घरजग्गा र नक्सापासबाट सबैभन्दा धेरै राजस्व असुली गर्ने गरेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म उठेको पाँच अर्बमध्ये घरजग्गा करबाट ५७ करोड ५० लाख, घरबहाल करबाट ९४ करोड ५० लाख र नक्सापासबाट ८४ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, सिफारिस दस्तुरबाट ४८ करोड ६ लाख, राजस्व बाँडफाँडबापत ४८ करोड ७४ लाख र पर्यटन शुल्कबाट १० करोड ८२ लाख रुपैयाँ राजस्व उठाएको छ ।

आव ०७५–७६ मा महानगरले घरजग्गा कर ७० करोड, व्यवसाय कर ३४ करोड र घरबहाल कर एक अर्ब ३३ करोड उठाएको थियो । ०७४–७५ मा घरजग्गा कर ५७ करोड, व्यवसाय कर १० करोड, घरबहाल कर ५६ करोड र ०७३–७४ मा घरजग्गा कर ७३ करोड, व्यवसाय कर ६ करोड र घरबहाल कर १५ करोड रुपैयाँ असुली गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७