नेपालमा भित्रियो मनसुन, आज कस्तो होला मौसम ?
काठमाडौं, ६ असार । नेपालमा ढिलो गरी मनसुन भित्रिएको छ । असार ५ अर्थात् जुन २० (बिहीबार) पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यो क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा छ र केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार नेपालमा मनसुन सामान्यतया जुन १० तारिखमा भित्रिने गर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिला गरी प्रवेश गरेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ ।
आंकलन अनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश–१ , प्रदेश–२ , प्रदेश–३ र प्रदेश–५ को केहि पश्चिमी भूभागहरूमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाँकी गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
सरदर वर्षाको ९० प्रतिशत देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमश: न्यून वा अधिक वर्षा भएको मानिने मौसमविद् बताउँछन् ।
आज कस्तो रहला मौसम ?
मौसमविद् गंगा नगरेकोटीका अनुसार अहिले पूर्वी क्षेत्रका पूरै भू–भागमा मौसम बदली भएको छ भने मध्य र पश्चिमका धेरैजसो स्थानमा मौसम सफा छ, केही स्थानमा मात्र आंशिक बदली छ ।
अपराह्नपछि देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने अनुमान रहेको मौसमविद् नगरकोटीले जानकारी दिएकी छन् । केही स्थान र पश्चिमका थोरै स्थानमा वर्षा हुने सम्भावना छ,’ नगरकोटीले भनिन्, ‘काठमाडौंमा पनि साँझपख वर्षा हुने संकेत देखिएको छ ।’ उनका अनुसार पूर्वमा भएको बदली मनसुनका कारण हो भने मध्य र पश्चिम क्षेत्रमा भएको बदली पश्चिमी वायुको प्रभाव हो ।
पूर्वबाट मनसुन क्रमशः सर्दै देशभर फैलिन सामान्यतया एक हप्ता लाग्ने मौसमविद् नगरकोटीले बताइन् । तर ८–१० दिन पनि लाग्न सक्ने उनको भनाइ छ । अहिले तराई क्षेत्रको तापक्रम पनि ४० डिग्रीबाट तल झरिसकेको छ । अब केही दिन तापक्रम नबढ्ने र न्यून घट्ने मौसमविद्को अनुमान छ ।