दुई हप्तामै स्मार्ट लाइसेन्स दिन ‘मास प्रिन्टर’ खरीद गरिँदै
काठमाडौं, ३० बैसाख । स्मार्ट चालक अनुमतिपत्रका लागि फारम भरेर पनि नपाउनेको संख्या दिनदिनै बढिरहदा सरकारले दुई महिनाभित्रमा ‘मास प्रिन्टर’ खरीद गरिसक्ने भएको छ ।
‘मास प्रिन्टर’ खरीदका लागि ठेक्का आह्वान भइसकेकाले दुई महीनाभित्रमा आइसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले खरीद प्रक्रियामा गइसकेकाले अब सेवाग्राहीले चालक अनुमतिपत्रका लागि लामो समय कुर्न नपर्ने बताए । उनले भने, ‘अबको केही महिनापछि नै सेवाग्राहीले फारम भरेको एक–दुई हप्तामा नै चालक अनुमतिपत्र पाउने छन् ।’
कार्यालयमा अहिले झण्डै छ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका क्रममा रहेका महानिर्देशक दाहालले बताए । उनका अनुसार छ महिना पहिले फारम भरेका सेवाग्राहीले अहिले चालक अनुमतिपत्र पाउन बाँकी रहेको छ ।
उनले भने, ‘मास प्रिन्टरले काम गर्न थालेसँगै यो अवधि कम हुँदै जानेछ ।’ देशभर रहेका यातायात व्यवस्था कार्यालय प्रदेशमा हस्तान्तरण भइरहे पनि विभागले नै ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्दै आएको छ ।