रेल ल्याउने कुरा राम्रो तर, औकात बाहिरको : सांसद लामा
काठमाडौं, २९ बैसाख । नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामाले सरकारको रेलको कुरा ‘औकात बाहिर’ को भएको टिप्पणी गरेका छन् ।
सरकारले नागरिकका सामान्य आवश्यकता पूरा गर्न नसकिरहेका बेला अध्ययन बिनै रेलका कुरा गरेर औकात बिनाको कुरामा अलमलाई रहेको बताए । उनले अहिलेको सरकार काम भन्दा बढी कुरा गरी शब्दजाल फिंजाउन माहिर देखिएको आरोप लगाए ।
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद लामाले बजेटमा संघीयतालाई बलियो बनाउने आधार नभेटिएको दाबी गरे । उनले भने, ‘आगामी वर्षका लागि प्रस्तुत हुन लागेको बजेट केन्द्रीकृत देखियो । कृषिलाई ध्यान दिएन । श्लोक, नारा लगाएर पुग्दैन ।’
लामाले रेल ल्याउने कुरा औकत बाहिरको कुरा भएको तर्क गरे । भने, ‘रेल ल्याउने कुरा राम्रो हो । तर, कसरी चलाउने सकिन्छ त्यसको आधार त चाह्यो नि । भारतमा समेत घाटामा छ रेल । त्यहाँ त्यत्रा मान्छे हुँदा पनि । जापानको क्योटो शहरमा रेल घाटामा छ । नाफा पनि हेर्नुपर्यो नि । कसरी चलाउने त्यो कुरा पनि ख्याल राख्नुपर्यो ।’