ठमेल बैठकमा सभापति देउवा विरुद्ध रणनीति बनाउँदै कांग्रेसका जिल्ला सभापतिहरु
काठमाडौं, २० चैत : गत पुसमा सम्पन्न महासमिति बैठकले अनुमोदन गरेको निर्णयलाई उल्टाएपछि असन्तुष्ट जिल्ला सभापतिहरु नयाँ रणनीति बनाउँन काठमाडौंमा जुटेका छन् । बुधबारदेखि काठमाडौंमा सभापतिहरुको बैठक सुरु भएको हो ।
काठमाडौंको ठमेलस्थित एक होटलमा जारी बैठकमा ४३ जिल्लाका सभापतिहरु सहभागी छन्, भने बाँकी ७ जिल्लाका सभपतिहरु बुधबार साँझसम्म आइपुग्ने बताइएको छ । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरु मात्रै सहभागी छन् । भेलामा संस्थापन पक्षीय जिल्ला सभापतिहरुलाई पनि बोलाइएको थियो । तर, उनीहरु उपस्थित भएका छैनन् ।
भेलामा पार्टी्भित्र रहेका आन्तरिक समस्याका विषयमा छलफल भइरहेको काठमाडौं सभापति सवुज बानियाले जानकारी दिए । पार्टीलाई थप व्यबस्थित बनाउनका निम्ती भेलामा छलफल भइरहेको उनको भनाई छ ।
के हो असन्तुष्टी ?
पदाधिकारीसहित केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्ने प्रावधानलाई विधानबाट हटाउनु पर्ने र समानुपातिक निर्वाचन प्रणालीका लागि राखिएको आरक्षण व्यवस्थामा एक व्यक्तिले एक पटकभन्दा बढी अवसर पाउन नहुने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए । पुस ८ मा सकिएको महासमिति बैठकमा चार दर्जनभन्दा बढी जिल्ला सभापतिहरुले लिखित रुपमै त्यो प्रस्ताव पारित गर्न नेतृत्वलाई दवाव दिएका थिए ।
बैठकमा सहमति हुन नसकेपछि महासमितिकै बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको मागअनुसारको विधान बनाउने भन्दै बैठक टुङ्गयाएका थिए । तर गत फागुन १२ गते सभापति देउवाले बहुमतीय प्रक्रिया अपनाएर महासमितिको म्याण्डेड विपरित विधान पारित गरेपछि जिल्ला सभापतिहरु रुष्ट छन् । केन्द्रीय समितिले केन्द्रीय सदस्यहरु सिधै महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्थाहितको कांग्रेसको विधान पारित गरेको छ ।
जिल्ला सभापतिहरुको प्रस्तावलाई अधिकांश महासमिति प्रतिनिधिले समर्थन गरेका थिए । जिल्ला सभापति र अन्य प्रतिनिधिहरुको प्रस्ताव अनुरुप केन्द्रीय समितिले विधान पारित गर्ने पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले महासमिति समापन समारोहमा प्रतिबद्धता जनाएका थिए ।
महासमितिमा राखेको प्रस्तावलाई केन्द्रीय कार्यसमिति बैठकले उल्टाएपछि असन्तुष्ट जिल्ला सभापतिहरुले फागनु २१ गते विज्ञप्ति जारी गरेर निर्णयमा पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्ने चेतावनी पनि दिएका थिए । उनीहरुले केन्द्रीय समितिको निर्णय नसच्याए विषेश महाधिवेशन बोलाउन पनि माग गरेका थिए । तर, निर्ण नसच्चिएपछि यो बैठकको आयोजना भएको हो ।
के गर्छ भेलाले ?
सभापति र नेताको प्रतिवद्धतालाई केन्द्रीय समितिमा बहुमतले लत्याउँदै पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएपछि भेलाको आयोजना गरिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंहले बताए ।
महासमिति बैठकको निर्णय अनुसार चल्न नेतृत्वलाई दबाब दिइने उनको भनाई छ ।पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था जसरी पनि खारेज गराएरै छोड्ने उनको भनाई छ । यदि त्यसो नभई विशेष महाधिवेशनको माग गरिने उनको भनाई छ ।