कांग्रेसमा बहुमतबाट समिति गठनको तयारी, पौडेल-सिटौला पक्ष बहिष्कारको मनस्थितिमा
काठमाडौं, २७ फागुन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले अनुशासन र निर्वाचन समिति बहुमतबाट गठन गर्न खोजिए केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने भएका छन् ।
समिति गठनलगायत पार्टी सञ्चालनका विषयमा पूर्वसहमति नभए केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताए ।
सभापति शेरबहादुर देउवाले समिति गठन गर्ने प्रयोजनका लागि चैत ४ गते केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् । देउवाले फागुन १४ को बैठकमै अनुशासन समिति गठन गर्न खोजे पनि पौडेल–सिटौला पक्षको विरोधका कारण रोकिएको थियो ।
अनुशासन र निर्वाचन समिति निष्पक्ष निकाय भएकाले सर्वस्वीकृतिमा गठन हुनुपर्ने उनीहरूको माग छ। ‘यो र ऊ पक्षको नभएर पार्टीमा समन्वय गर्नसक्ने, निष्पक्ष र स्वतन्त्र व्यक्तिको संयोजकत्वमा समिति गठन गर्नुपर्छ,’ केसीले भने, ‘सभापतिले उपेक्षा गर्ने हो भने हामी बैठकमै जाँदैनौं ।’
देउवाले निर्वाचन समितिभन्दा अघि अनुशासन समिति गठन गर्न चाहेका छन् । पाँच सदस्यीय समितिमा संस्थापन पक्षले संयोजकसहित तीन र पौडेल–सिटौला पक्षले दुई सदस्य लिने भागबन्डा भएको छ । पौडलले यी दुवै समिति पार्टीका न्यायिक समिति भएकाले संयोजकसहित सदस्यहरू छलफलबाटै तय गरिनुपर्ने बताउँदै आएका छन् । देउवाले भने पौडेललाई दुई सदस्यको नाम दिन आग्रह गरिरहेको एक नेताले बताए ।
अनुशासन समितिमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेलाई संयोजक बनाउने देउवाको तयारी छ । सदस्यतमा देवेन्द्रराज कँडेल, मोहन बस्नेत र किशोरसिंह राठोरमध्ये दुई जनालाई राख्ने उनको योजना छ ।
सहमहामन्त्री प्रकाशशरण महतले अनुशासन समितिमा संयोजक हुन धेरैले अनिच्छा देखाएकाले भनेजस्तो समिति गठन गर्न अप्ठ्यारो परेको बताए । ‘धेरै साथी यो अपजसिलो काम भनेर पन्छिन खोज्नुभयो, बल्लबल्ल भीष्मजीले बस्न मान्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले भने जस्तो व्यक्ति यो समितिमा बस्न कहाँ तयार भए त ?’
संस्थापन पक्षबाट प्रस्तावित नाममा पौडेल र सिटौला पक्ष बढी सशंकित छ । आफूलाई मन नपरेका, विपक्षी खेमाका नेता–कार्यकर्तालाई छानीछानी कारबाही गर्न सक्ने संशय उनीहरूमा छ । आफ्नाविरुद्ध चर्को आलोचना गर्ने केन्द्रीयस्तरका नेताहरूलाई कारबाही गर्ने चेतावनी सभापति देउवाबाट आइरहेकाले पनि उनीहरू संशकित छन् । कान्तिपुर दैनिकबाट