पोखरा प्रवेश गर्ने विजयपुर खोलाको पुल ७ ठाउँमा भाँचियो


२०७५ फाल्गुण २६ आइतबार १७:०९ बजे

काठमाडौं, २६ फागुन । पोखरा प्रवेश गर्ने विजयपुर खोलाको पुल सात ठाउँमा भाँचिएपछि जोखिम बढेको छ ।

साविक लेखनाथ नगरपालिका र पोखरा शहर जोड्ने उक्त पुल चर्किएपछि धेरै लोड बोकेका गाडीमा प्रतिबन्ध लगाइएको छ । पृथ्वी राजमार्ग हुँदै पोखरा प्रवेश गर्ने एक मात्र पुल चर्किएपछि १० टन भन्दा बढी भार बोकेका गाडी आवतजावतमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

पुलका बटमकड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाँचिएका कारण सवारी आवागमनमा दुर्घटना निम्तन सक्ने देखिएको छ । ७४.२ मिटर लामो पुलको तत्काल मर्मत नगरे चाँडै भत्किने सडक डिभिजन कार्यालय पोखराले जानकारी दिएको छ ।

‘पुलमा खिया लाग्न र रङ खुइलिन थालेपछि रङ लगाउन थालेका थियौं । त्यहीबेला पुल जोखिममा रहेको भेट्यौं,’ कार्यालय प्रमुख हरिकुमार पोखरेलले भने, ‘बेलैमा पुनर्निर्माण नगर्ने हो भने पुल भत्किने सम्भावना छ ।’

कार्यालयले पुलमा टेको लगाएरै चर्किएका ठाउँमा मर्मत गरिरहेको छ । तत्काल स्थायी मर्मत भने गर्न नसकिने जनाएको छ । ‘आवतजावतका लागि अन्य वैकल्पिक पुल छैन । स्थायी पुल बनाउन लामो समय लाग्ने देखिन्छ,’ पोखरेलले भने, ‘हामीले अहिले कसरी छिटो हुन्छ, तत्काल अस्थायी तरिकाले बनाउने कोशिस गरिरहेका छौं ।’

पुलको पुनर्निर्माण र लागतबारे अध्ययन गर्न शुक्रबार पुल महाशाखाका प्रमुख दीपककुमार भट्टराई, सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्य र पुल्चोक इन्जिनियरिङ क्याम्पसका सिभिल इन्जिनियर प्रमुख भरत मण्डलको टोली आएको थियो । टोलीले अध्ययन प्रतिवेदन बुझाउन एक महिना लाग्ने सडक डिभिजन कार्यालयले बताएको छ ।

२०६४ सालदेखि सञ्चालनमा आएको स्टिल ब्रिज प्रविधिमा बनाइएको पुलमा दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । बिटी इलाइट बिपी एड्भेन्चर जेभीले निर्माण गरेको पुलमा गोल्छा अर्गनाइजेसनको हुलास इन्जिनियरिङले पुल फिटिङ गरेको थियो ।

पुरानो ट्रस्टको पुल जीर्ण भएकाले त्यस्को विकल्पमा स्टिल ब्रिज बनाइएको थियो । पुरानो ट्रस्टपुलको आधाभाग अझैं त्यहीं प्रयोगविहीन छ । २०६४ सालमा पक्की पुल प्रयोगमा आएपछि उक्त ट्रस्ट पुलको आधा भाग साविक लेखनाथ नगरपालिका २ र साविक भरतपोखरी गाविस ३ जोड्ने सेती नदीको पशुपति घाटमा लगिएको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७