ज्येष्ठ नागरिकको सुविधामा टोपबहादुर रायमाझी जेलमुक्त


२०८३ कार्तिक २६ बिहीबार ०९:३६ बजे
फाइल फोटो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी रिहा भएका हुन् ।

डिल्लीबजार कारागार स्रोतका अनुसार रायमाझीलाई बिहीबार बिहान श्रीमती र परिवारका सदस्यको जिम्मा लगाएर रिहा गरिएको हो ।

‘उहाँलाई श्रीमती र परिवारका केही सदस्यको जिम्मा लगाइएको छ । आज बिहान उहाँ यहाँबाट जानुभयो,’ कारागार स्रोतले भन्यो ।

रायमाझीले ज्येष्ठ नागरिकको सुविधा पाउनुपर्ने भन्दै अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले संशोधित कैदीपुर्जी कारागारमा पठाएको थियो । काठमाडौं जिल्ला अदालतले पनि कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ ।

रायमाझी २० वैशाख २०८० मा पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।

उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना सुनाइएको थियो ।

यही कसुरमा थप ६ महिना कैदसमेत निर्धारण गरिएको थियो ।

सबै कसुरको सजाय एकीकृत गर्दा रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७