प्रधानमन्त्री शाहसँग प्रथम राष्ट्रपतिको आशा : गणतन्त्र दिवसमा सम्बोधन गर्नुहुनेछ

पूर्वराष्ट्रपति यादवले भने, ‘म आशा गर्छु, हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्नुहुनेछ।’


२०८३ जेठ १३ बुधबार १४:२५ बजे

काठमाडौँ :  प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्। नेपाल प्रेस युनियनको विधान सम्मेलनलाई आज सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री पद सम्हालेको दुई महिना भइसक्दा पनि अहिलेसम्म देश र संसद्लाई सम्बोधन नगरेकाले यस पटकको गणतन्त्र दिवसमा उहाँको दृष्टिकोण सुन्न नेपाली जनता आतुर रहेको बताए।

‘संसदीय व्यवस्थामा प्रधानमन्त्री नै कार्यकारी प्रमुख हुन्,’ यादवले भने, ‘प्रधानमन्त्री भएको दुई महिना भइसक्यो, उहाँले देशवासीलाई सम्बोधन गर्नुपर्ने हो। म पूर्वराष्ट्रपति र हाल एक नागरिकका रूपमा यो आशा गरिरहेको छु कि हाम्रो देशको प्रधानमन्त्रीले गणतन्त्र दिवसमा अवश्य सम्बोधन गर्नुहुनेछ।’ राजनीतिक संघर्षका उपलब्धिहरूको रक्षा र मुलुकलाई कुन दिशामा लैजाने भन्ने विषयमा प्रधानमन्त्रीको मार्गचित्र आउनु आवश्यक रहेको उनको भनाइ थियो।

युवाहरू संसद् र सरकारमा आउनुलाई नेपाली जनताको १०० वर्षको योगदानको उपलब्धिका रूपमा चित्रण गर्दै पूर्वराष्ट्रपति यादवले यसलाई संस्थागत गरेर अघि बढाउन नेतृत्वले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिए।

यद्यपि, प्रधानमन्त्री शाह भने गणतन्त्र दिवसका अवसरमा आफैँ सम्बोधन गर्ने पक्षमा देखिएका छैनन्। उनले मन्त्रिपरिषद्बाटै निर्णय गराएर यस पटकको गणतन्त्र दिवसमा सम्बोधन गरिदिन हालै राष्ट्रपति रामचन्द्र पौडेललाई पत्रसमेत पठाइसकेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७