वाल स्ट्रिटकै सबैभन्दा ठुलो आईपीओ ल्याउँदै स्पेसएक्स
काठमाडौँः प्रविधि क्षेत्रका दिग्गज व्यवसायी इलन मस्कको रकेट निर्माता कम्पनी 'स्पेसएक्स' ले अमेरिकी सेयर बजारमा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने घोषणा गरेको छ। यो कदमसँगै अब सर्वसाधारण लगानीकर्ताहरूले पनि सेयर बजारमार्फत स्पेसएक्सको स्वामित्व खरिद–बिक्री गर्न पाउने भएका छन्।
अमेरिकी सेयर बजारको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठुलो आकारको मानिएको यो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आगामी महिनादेखि नै खुला हुन सक्नेछ। सेयर बजारमा यो कम्पनी 'SPCX' टिकर सिम्बोलका साथ सूचीकृत हुने तयारीमा छ। स्पेसएक्सले रकेट उत्पादन गर्नुका साथै 'स्टारलिंक' मार्फत भूउपग्रह इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ भने मस्कको विवादास्पद आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'एक्सएआई'को स्वामित्व पनि यसैैसँग छ।
यो ऐतिहासिक सेयर निष्कासनसँगै विश्वकै सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा रहेका मस्क अब विश्वकै पहिलो 'ट्रिलियनर' (१० खर्बपति) बन्ने सम्भावना बलियो भएको छ। स्पेसएक्समा उनको बहुमत सेयर स्वामित्व रहेका कारण आईपीओपछि उनको सम्पत्तिमा ठुलो उछाल आउने देखिएको हो।
हाल स्पेसएक्सले आफ्नो बजार मूल्याङ्कन १.२५ ट्रिलियन (१२ खर्ब ५० अर्ब) डलर तय गरेको छ। कम्पनीमा मस्कको हिस्सा मात्रै ६०० अर्ब डलरभन्दा बढी मूल्यको हुने अनुमान गरिएको छ। विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका प्रमुख समेत रहेका मस्क गत वर्ष मात्रै ५०० अर्ब डलरको कुल सम्पत्ति आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति बनेका थिए।
स्पेसएक्सको यो नयाँ सेयर सूचीकरणले उनको कुल सम्पत्तिलाई १ ट्रिलियन डलरभन्दा माथि पुर्याउने निश्चित देखिन्छ। नियामक निकायमा बुझाइएको यो सेयर निष्कासन सम्बन्धी दस्ताबेजले लामो समयदेखि पर्खाइमा रहेको स्पेसएक्सको वास्तविक आर्थिक अवस्थालाई पहिलोपटक सार्वजनिक रूपमा प्रस्ट पारेको छ।
.gif)

.png)

