पूर्व मुख्यमन्त्री सोडारी निलम्बित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ ।
प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए।
प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले) बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए । सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित
आजको बैठकबाट प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भ उठिरहेका प्रश्नबारे सरकार गम्भीर रहेको बताए। उनले सुशासन कायम गर्न र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर सरकारले काम गरिरहेको बताए।
नीति कार्यक्रममा छुटेका विषयलाई बजेटमार्फत सम्बोेधन गरिने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री शाहले सीमित साधनस्रोतका बीचबाट काम गर्नुपर्ने परिस्थितिलाई बुझिदिन प्रदेशसभा सदस्यलाई आग्रह गरे। उनले भने, ‘विधि, प्रक्रियालाई बुझ्न सकेनौँ र पुरातन शैली र ढर्रालाई यथावत् राखेर अघि बढ्न खोज्यौ भने हामीले चाहेको विकास र समृद्धिले गति लिन सक्दैन, यसमा सबै गम्भीर बन्न जरुरी छ।’
हालै भएको आफ्नो औपचारिक भारत भ्रमणको सन्दर्भ उल्लेख गर्दै मुख्यमन्त्री शाहले यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको कूटनीतिक सफलताको रूपमा प्रदेश सरकारले लिएको बताए। उनले भने, ‘भ्रमणका क्रममा भारत सरकारले विशेष गरी सुदूरपश्चिमवासीलाई सम्मान गरेको अर्थमा हामीले बुझेका छौँ । हाम्रो आतिथ्यका लागि भारत सरकारलाई धन्यवाद दिन्छौँ ।’
मुख्यमन्त्री शाहले प्रदेशको स्थायी राजधानी स्थापनाबारे दलहरूबीच छलफल भइरहेको र सदनमा पनि छलफल गरिने बताए । नीति कार्यक्रममाथि आज अन्तिम दिन भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू राजेन्द्रसिंह रावल, रमेशसिंह धामी, घनश्याम चौधरी, जानकीदेवी कुँवर, चक्रबहादुर मल्ल र ओमविक्रम भाटले छुटेका विषय समेट्न सुझाव दिएका थिए।