३१ वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै


२०८२ जेठ ५ सोमबार १३:५४ बजे

खोटाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरेका हुन् । 

दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए । उनका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छभने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको छ । दिव्यज्योति कन्ट्रक्सन प्रालिले रु ४२ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ चैत १७ गते तथा रायमाझी कन्ट्रक्सन प्रालिले रु ४४ करोड लागतमा सम्पन्न गर्नेगरी विसं २०८१ माघ २ गते सम्झौता गरेको हो । 

दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएका छन् । फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वीतराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे । ‘यो सडक तपाईँको व्यावसायिक काममात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो। तपाईले यो सडक कालोपत्र समयमा सम्पन्न गर्नुहुनेछ । यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन्’, उनले भने, ‘कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि  खबरदारी आवश्यक छ। यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिवद्ध रहेको छ ।’ 

मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनर्निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए। गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले रु ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनर्निर्माण हुने उनको भनाइ छ । यस सडक यसअघि पनि कालोपत्र सुरु गरिएको थियो । ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्र सुरु गरेको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७