मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न : अध्यक्ष प्रचण्ड

दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखमा सर्वपक्षीय जनसंवाद कार्यक्रममा स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा छलफल गरेका छन्। उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।
दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्य पहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट गरे ।
‘मध्य पहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्दै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण तथा पर्यटन र उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, वैदेशिक रोजगारी र बसाइसराइको क्रम यथावत रहनु चिन्ताको विषय हो ।’ उनले दैलेख पेट्रोलियम खानीको सम्भावना बोकेको जिल्ला रहेको उल्लेख गर्दै उक्त अन्वेषणको थालनी माओवादी नेतृत्वको सरकारका पालामा भएकोमा गौरव व्यक्त गरे ।
‘अनुसन्धानका लागि नमूना चीन पठाइएको छ भन्ने जानकारी पाएको छु,’ उनले भने, ‘यसबारे थप जानकारी लिन म काठमाडौं फर्केपछि चिनियाँ पक्षसँग छलफल गर्नेछु ।’ कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज तथा पत्रकार महासंघका प्रतिनिधिहरूले जिल्लाको विकास, पूर्वाधार, पर्यटन तथा उद्योग प्रवद्र्धनसम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकतासहितको मागपत्र अध्यक्ष प्रचण्डसमक्ष बुझाउँदै, मध्य पहाडी लोकमार्ग अभियान अघि बढाएकोमा कृतज्ञता व्यक्त गरेको थियो। सहभागीहरूले उक्त अभियानले दैलेखको विकास सम्भावनालाई मूर्तरूप दिन मद्दत गर्ने विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा लेदोसहितको पहिरोका जोखिममा रहेका बासिन्दाको उद्धार र सुरक्षित बसोबारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गर्दछु ।’
अध्यक्ष दाहालले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्व तयारीका कार्यमासमेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘त्यहाँ हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको कुराले झन गम्भीर बनाएको छ ।’