जिप्रका पर्सामा तनाव, वैठक नै स्थगित

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्सामा वैठक चलिरहेकै बेला तनाव उत्पन्न भएको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक र्यालीमा भएको ढुङ्गामुढा र त्यसपछिको कफ्र्यू परिस्थितिमा समुदायबीचको विवाद समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित भएको छ ।
शनिबारको घटनापछि आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, अनुसन्धान प्रमुख दिलीपसिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा दुवै समुदायका अगुवाहरू सहभागी थिए ।
तर, तेस्रो बैठकको सुरुमै सामाजिक सञ्जालमा आएका पोस्टको विषयमा टिप्पणी र अभिव्यक्तिको विषयमा दुवै पक्षबीच चर्काचर्की भएको हो । सामान्य छलफलमै बहस बढ्दै गएपछि एक–अर्काप्रति गाली–गलौज तथा हात हालहालको स्थिति बनेपछि बैठक स्थगित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकको वातावरण शान्तिपूर्ण नभएकाले बैठक तत्कालका लागि रोकिएको छ । यता प्रशासनले वीरगञ्जमा निषेधाज्ञा थप गरी राति १२ बजेसम्म लम्ब्याइएको छ । सामुदायिक एकता र मेलमिलापका लागि आवश्यक राजनीतिक तथा सामाजिक सहकार्य गर्न समस्या परेको छ । बैठकमा भएको विवादपछि स्थानीय तह, समुदाय प्रतिनिधि र सुरक्षाकर्मीबीच छुट्टाछुट्टै छलफल गर्ने तयारी गरिएको प्रहरी स्रोत बताउँछ । नागरिक समाजका अगुवा तथा बौद्धिक वर्गले तत्काल संयम अपनाउन र साम्प्रदायिक एकता जोगाउन आग्रह गरेका छन् ।