मलाई ‘आई लभ यु’ भन्ने पनि छन्, ‘आई हेट यु’ भन्ने पनि : प्रधानमन्त्री
‘हिजोदेखि इस्यु भेटियो ! देश बनाउँदा हाम्रा पुर्खा तमासा हेरेर बसेका थिए ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पराउने र मन नपराउने दुवै खालका मान्छेहरू रहेको बताएका छन् । आज (मंगलबार) नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुवा’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले जे भने पनि आफूले इमान्दारपूर्वक काम गरिरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘मन पर्ने र नपर्ने पनि अनौठो हुने र’छ । त्यही मान्छे एकथरी मान्छेले मन परार उधुम, त्यही मान्छेलाई अर्काथरी मान्छेले मन नपरार उधुम । म त भुक्तभोगी छु । मलाई आई लभ यु भन्ने पनि छन्, आई हेट यु भन्ने पनि छन् । यो उनीहरूको राइटको कुरा हो । मैले आफ्नो काम राम्ररी गर्नुपर्छ, इमान्दारपूर्वक गर्नुपर्छ । को के भन्छ त्यो उसको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने ।
यसअघि आजै ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका थिए ।
‘हिजोदेखि इस्यु भेटियो ! देश बनाउँदा हाम्रा पुर्खा तमासा हेरेर बसेका थिए ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई सरकारले हटाएकोप्रति संकेत गर्दै सरकारविरुद्ध लाग्नेहरुले ‘इस्यु भेटियो’ भन्दै हिँडेको टिप्पणी गरेका छन् । ‘इस्यु भेटियो हिजोदेखि भन्दै हिँडेका छन्’, उनले भने, ‘यहि मौका हो । यहि डोरीलाई अब नाग बनाउनु पर्छ भनेर लागेका छन् । त्यसको केही अर्थ छैन । हामीले देश र जनताको लागि इमान्दार भएर काम गर्नै हो ।’
सरकारले घिसिङलाई हिजो हटाएको थियो । उनले पूर्वराजाको आन्दोलनप्रति संकेत गर्दै यो देश बनाउन आफ्ना पुर्खाको पनि उत्तिकै योगदान रहेको बताए । ‘यो देश बनेको छ । जसले बनाओस्’, उनले भने, ‘हाम्रा पुर्खा पनि देशका लागि लडेका थिए । एक जनाका पुर्खाले लडे भन्ने होइन । हाम्रा पुर्खा के तमासा हेरेर बसेका थिए त्यसबेला ? फ्रन्टलाइनमा थिए मरेकाको मतलब छैन । पछि हुने बाँचे । एक जनाको खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तन हो। त्यसमा अब कोही जानै सक्दैन ।’