ट्याक्टर पल्टिँदा दुई युवकको मृत्यु, चार जना घाइते

म्याग्दी । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बिहीबार साँझ धवलागिरि गाउँपालिका–२ लुलाङमा ग १ त ७१९६ नम्बरको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा स्थानीय १८ वर्षीय देविन विक र २१ वर्षीय पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । दुर्घटनामा पूर्णलालको घटनास्थलमै मृत्यु भएको हो । देविनको भने लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका कविराज विक र कमल विक, म्याग्दीकै मालिका गाउँपालिका–६ दरबाङका विकास विक र धवलागिरि गाउँपालिका–४ का किस्मत विक घाइते भएका छन् । उनीहरु सबैलाई लुलाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि राति नै सदरमुकाम बेनी लगिएको थियो । त्यसमध्ये गम्भीर अवस्थाका एक घाइतेलाई पोखराको मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो ।