राजसंस्था पुनर्स्थापनाको आन्दोलन गर्ने राप्रपाको घोषणा, लिङ्देनले नेतृत्व गर्ने


२०८१ चैत ५ मंगलबार ०३:४६ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र घोषणालगायत मागसहित काठमाडौं उपत्यकामा केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।  आज (मंगलबार) पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन अघि बढाउने निर्णय गरेको हो ।

अध्यक्ष लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिको बैठक चैत १२ गते बस्नेछ । सो बैठकमा आगामी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ । लिङ्देनले पार्टीका सबै गतिविधि आन्दोलनमुखी बनाइने बताएका छन् । राप्रपाले समान विचार राख्ने समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्य गर्ने नीति लिएको छ ।

यसअघि, नवराज सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन भएको थियो । सो समितिमा अध्यक्ष लिङ्देन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सदस्य बनाइएको थियो । तर, लिङ्देनले आफूलाई जानकारी नदिई नाम राखिएको भन्दै सो समितिमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

‘हामी आफ्नो पूर्व निर्धारित आन्दोलनलाई नै निरन्तरता दिनेछौं’, लिङ्देनले भने, ‘राजसंस्था पुनस्र्थापना र राजनीतिक सुधारका लागि पार्टी एकताबद्ध भएर अघि बढ्छ ।’ बैठकले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ । अर्थतन्त्र कमजोर हुँदै गइरहेको, भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको र आम जनतामा निराशा बढ्दै गएको भन्दै राप्रपाले प्रणालीगत सुधार आवश्यक रहेको बताएको छ ।

पार्टीले ‘नवीन समझदारी’ लाई नै समस्याको समाधानका रूपमा अघि सारेको छ । कुनै पनि राजनीतिक दललाई निषेध नगरी साझा समझदारी निर्माण गर्न राप्रपाले आह्वान गरेको छ । राप्रपाले आन्दोलन परिचालन मूल समितिको संयोजक लिङ्देनलाई बनाएको छ । आन्दोलनलाई प्रभावकारी बनाउन रणनीतिक योजना बनाइने र चरणबद्ध कार्यक्रम अघि सारिने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका  छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७