देउवाले बोलाए कार्य सम्पादन समितिको बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राजावादीको प्रदर्शनपछि पार्टीको औपचारिक धारणाबारे निर्णय गर्न नेपाली कांग्रेसले यही चैत १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
मंगलबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले समसामयिक विषयमा दृष्टिकोण सार्वजनिक गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
फागुन २५ गते राजावादीहरूले राजसंस्था पुनस्र्थापनाको लागि प्रदर्शन गरेका थिए । कांग्रेस बैठकमा राजावादीको प्रदर्शनबारे समीक्षा भएको छ । गृहमन्त्री रमेश लेखकले सो प्रदर्शनबारे बिफ्रिङ गरेपछि नेताहरूले धारणा राखेका थिए। राजावादीको प्रयासको प्रतिवाद गर्ने र यसका लागि कार्यसम्पादनले औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको हो ।
बैठकमा समसामियक राजनीतिक, नेविसंघको अधिवेशन, पार्टी अभियानबारे पनि छलफल भएको सहमहामन्त्री उपाध्यायले जानकारी दिएकी छन् । पछिल्लो समय राजावादीहरूको प्रदर्शनबाट दलहरू सशंकित छन्। प्रतिपक्षी दलले त राजावादीविरुद्ध विरोध प्रदर्शन गर्दैछन् ।