‘समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइन’


२०८१ चैत २ शनिबार २१:३६ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा सरकारमा जाने टेकोका रूपमा निर्माण नगरिएको स्पष्ट पारेका छन् । आज (शनिबार) ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले समाजवादी मोर्चा आफ्नो व्यक्तिगत हितका लागि निर्माण नगरिएको दाबी गरे । ‘प्रचण्डका लागि समाजवादी टेको बनाइयो भन्ने कुरा गलत हो,’ उनले भने, ‘यो सोचविचार गरेर निर्माण गरिएको मोर्चा हो।’

उनले फागुन २५ गते राजावादीहरूको प्रदर्शनपछि मात्रै समाजवादी मोर्चा सक्रिय बनाइएको भन्ने भनाइ असत्य भएको बताए । ‘हामी यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएका थियौं,’ अध्यक्ष दाहालले थपे, ‘पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अहिले महेन्द्र राय यादव हुनुहुन्छ । हामी चारवटै पार्टी मोर्चामा रहेका छौं । यसलाई प्रचण्डका लागि भनेर भन्ने कुरा पूर्ण रूपमा गलत हो ।’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूले एक पटक जनतासँग आत्मसमीक्षा गर्नु आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार विगतका त्रुटिहरू सच्याउँदै अघि बढ्न समाजवादी मोर्चा सक्रिय भएको हो । ‘यो कुनै प्रतिक्रिया स्वरूप गरिएको कार्यक्रम होइन, न त कुनै कम्पनको कुरा हो,’ उनले स्पष्ट पारे, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरका रूपमा जनता सामु आत्मसमीक्षा गर्नुपर्छ । के–के त्रुटि भए, कसरी अघि बढ्ने भन्नेबारे जनतासँग छलफल गर्नुपर्छ ।’ अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका सबै गणतन्त्रवादी शक्तिहरूसँग निरन्तर संवाद भइरहेको बताउँदै सरकार भने विपक्षी दललाई अघि बढ्न सहजीकरण गर्न आवश्यक रहेको धारणा राखे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७