ट्रम्पले गरे वरिष्ठ सैन्य अधिकारी जनरल सीक्यू ब्राउनलाई बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका सबैभन्दा ठूलो सैन्य अधिकारीलाई अचानक पदमुक्त गरेका छन् । ट्रम्पले अमेरिकी सेनाका ज्वाइन्ट चिफ स्टाफ (जेसीएस) का अध्यक्ष चाल्र्स सी. क्यू. ब्राउन जुनियरलाई शुक्रबार राति पदमुक्त गरेका हुन् ।
जेसीएस अमेरिकाको रक्षा विभागका सबैभन्दा वरिष्ठ सैन्य कमाण्डरहरूको समूह हो । यो समूहले राष्ट्रपति, रक्षा मन्त्री, होमल्याण्ड सेक्युरिटी काउन्सिल र नेशनल सेक्युरिटी काउन्सिललाई सैन्य मामिलामा सल्लाह दिन्छ । सी. क्यू. ब्राउनले सन् २०२० मा ब्ल्याक लाइभ्स म्याटर आन्दोलनलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए ।
यो आन्दोलन अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या पछि सुरु भएको थियो । त्यसबेला ब्राउन अमेरिकी वायुसेनाका चिफ अफ स्टाफ थिए । त्यस समयमा ट्रम्प अमेरिकी राष्ट्रपति थिए । सन् २०२० को राष्ट्रपति चुनावमा ट्रम्पको पराजयको पछाडि यस आन्दोलनको ठूलो भूमिका रहेको मानिन्छ ।
अन्य पाँच अधिकारी पनि बर्खास्त
ब्राउनसँगै ट्रम्पले अरु ५ जना सैन्य अधिकारी पनि बर्खास्त गरेको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । उनीहरू रक्षा विभागका अधिकारीहरू रहेका छन् । बर्खास्त हुनेमा नौसेना प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला अफिसर एडमिरल लिसा फ्रेन्चेटी, वायुसेनाका डेपुटी चिफ जेम्स स्लाइफसहित सेना, वायुसेना र नौसेनाका तीन उच्च ओहदाका अधिकारीहरू रहेका छन् ।
यद्यपि अहिलेसम्म उनीहरूको नाम सार्वजनिक गरिएको छैन । ट्रम्पले ब्राउनको स्थानमा रिटायर्ड वायुसेना जनरल ड्यान केन लाई जेसीएस अध्यक्षको जिम्मेवारी सुम्पिएका छन् । ट्रम्प र ड्यान केनबीच सन् २०१८ मा इराकमा भेट भएको थियो । त्यतिबेला केनले आफू ट्रम्पका लागि ज्यान दिन पनि तयार रहेको बताएका थिए ।