बालकोट दरबार होइन, आफ्नै पसिना र मेहनतको कमाइबाट बनेको घर : राधिका शाक्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ ।
आज (शनिबार) एक विशेष समारोहकाबीच पुस्तक लोकार्पण गरिएको हो । सोही पुस्तक लोकार्पण गर्दै प्रथम महिला शाक्यले गरिब दुःखीहरुका विषयहरु पुस्तकमा समेटिएको जानकारी गराइन् । उनले सानैदेखि बालापन, बिहेसम्मका कुराहरु यो पुस्तका समेटिएको बताइन् ।
शाक्यले भनिन्, ‘म सानैदेखि गरिब दुःखीहरुलाई देख्न नसक्ने खालको मान्छे थिएँ यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो । यसमा बालापनसँगै बिहेसम्मका कुराहरु समेटिएका छन् । मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरु गरिरहेको छु ।’
उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुःखेसो व्यक्त गरिन् । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहनतले घर बनाएको बताइन् ।
‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ । मलाई बस्ने घर त्यहिँ संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौँ । हामी कति वर्ष डेरामा बस्यौं त्यो किताबमा छ । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नु हुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार छु । दुई पैसा कहीँकतैबाट केही गरेर लिएका छैनौं । आफ्नै पसिना, मेहनतले घर बनाएका हौं । यसमा भ्रष्ट्राचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन’, शाक्यले भनिन् ।