रवि स्थलमार्गबाट काठमाडौं आउँदै
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौंका हिंडेका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आउन लागेका हुन् ।
भोलि शनिबार परेकाले उनी आइतबार मात्र अदालतमा उपस्थित हुने तयारी छ । लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । उनी स्थलमार्ग हुँदै काठमाडौं गएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनले अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी सभापति लामिछाने हिंडेको बताएका छन् । हवाइ मार्गबाटै जाने तयारी भए पनि नेता–कार्यकर्ताको ठूलो समूह भएकाले सभापति लामिछाने स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन्। ‘धेरै ठूलो समूह भयो, गाडीमै जाऔं म पनि सँगै जान्छु भन्नुभयो,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘यत्रो दिनको साथ पाएँ, अब म छुटेँ, तपाईंहरू चाहिँ बस्नुस् भन्ने कुरा पनि भएन ।’
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहित सात जनालाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै लामिछाने सहित ७ जना अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि अदालतले तोकेको ६५ लाख धरौटी बुझाएर हिजो साँझ रिहा भएका हुन् । गत पुस ७ गते मुद्दा दायर भई पुस १६ गतेदेखि सुरू भएको थुकछेक बहसपछि हिजो न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख धरौटी माग गरेको थियो ।