सिंहदरवारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरूबीच छलफल भएको हो ।
उनीहरूबीच संयुक्त समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ । सरकारले संसद अधिवेशन बोलाउन आलटाल गरेको भन्दै प्रमुख प्रतिपक्ष माओवादीसहित विपक्षीहरुको असन्तुष्टि रहँदै आएको छ । माओवादी केन्द्रको मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग औपचारिकरुपमै माग गरेको छ ।