ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति
मोरङ । जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिवलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश पारशमणि पोखरेलको इजलासले पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई पाँच दिन म्याद थप गरेको हो । ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । सो प्रकरणमा सोमबार मोरङ जिल्ला अदालतले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । घुस प्रकरण बाहिर आएपछि अनिललाई लेखा समिति सभापति पोखरेलले हटाएका थिए ।