सर्यो कोशी प्रदेश सरकारको लगानी सम्मेलन
मोरङ । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यसअघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पूरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संशोधन र खरिद प्रक्रिया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो । उनले कतिपय कानुन र नीति संशोधनका लागि केन्दीय सरकारका ेसमेत सहयोग चाहिने भएकाले सम्मेलन सार्नुपरेको बताए ।
कोशी प्रदेश सरकारले करिब १ खर्बको लागानी भित्र्याउने गरी लगानी सम्मेलनको तयारी गरिरहेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटमार्फत् लगानी सम्मेलन गर्नेगरी तयारी गरेर सरकारले काम गरिरहेको छ । लगानी सम्मेलनका लागि विभिन्न समितिहरू र सचिवालय गठन भइसकेको छ ।
अबको समय पर्याप्त भएको र तयारीको चरण पनि केही हदसम्म पूरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुने मन्त्री भण्डारीले बताए । उनले प्रदेश सभाको अधिवेशन माघको पहिलो साता गर्नेगरी छलफल अघि बढेको, अघिल्लो मन्त्रिपरिषद्को बैठक र आजको मन्त्रिपरिषद्को निर्णय बमोजिम आगामी सोमबार भित्र प्रदेश सभामा छ वटा विधेयक पुग्ने जानकारी दिए ।