मरेको कुखुराको मासु खाएका किशोरको मृत्यु, परिवारका अरु तीन जना बिरामी
अछाम । अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी परेका एक किशोरको मृत्यु भएको छ भने परिवारका तीन जना बिरामी भएका छन् । कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएका थिए । मासु खाएपछि बिरामी परेका उनको आइतबार मृत्यु भएको भण्डारीले जानकारी दिए । कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक समेत बिरामी भएका छन् ।
उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले जानकारी दिए । मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दुःख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो। मृतक किशोरका आमा–बुवा रोजगारीका सिलसिलामा भारत छन् । घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।