एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री ओली


२०८१ पौष १४ आइतबार १६:०३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने  आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक–फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताएका हुन् । 

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको संगत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको संगत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईहरुको एमालेमा आउने छनोट सही छ । तपाईहरु नमुना हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले भने,  ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नु पर्छ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्न पर्ने नभई कामको नतिजा निकाल्नु पर्ने भएकाले साँचो र यथार्थपरक जीवन यापन गर्न पनि आग्रह गरे । कार्यक्रममा अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए ।

सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’ का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा समाहित गरेका थिए । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उद्घोष गरे । कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७