देउवासँग कुनै मतभेद छैन, गगन मसँगै छन् : शेखर कोइराला


२०८१ पौष १४ आइतबार १०:४४ बजे

जनकपुर । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको बताएका छन् ।  आज (आइतबार) जनकपुरधाममा पत्रकारसँगको भेटमा कोइरालाले भने, ‘मेरो सभापतिजीसँग कुनै किसिमको रिस, राग, द्वेष छैन । उहाँ मेरो आदरणीय सभापति हुनुहुन्छ, उहाँले बोलाएका बेला म जान्छु । मैले कुनै सूचना पाएँ भने भेटेर भन्छु, फोन गरेर भन्छु ।’

उनले महामन्त्री गगन थापा आफूहरूसँग नै रहेको जिकिर गरे । उनले थापाले आफूसँग आगामी महाधिवेशनमा सभापतिमा उठ्नेबारे कुनै कुरा नगरेको पनि बताएका छन् । पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उमेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको बताए ।

‘उहाँ हाम्रो समूहमा हुनुहुन्छ । उहाँले सभापतिमा उठ्छु भनेर मलाई त भन्नु भएको छैन । तपाईंहरूलाई भन्नु भएको छ भने मलाई थाहा छैन’, उनले भने । उनले गगन थापा र पूर्वराजाबीच भेटवार्ता भएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । त्यस्तै, कोइरालाले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार बनाउनु परेको बताएका छन् ।

संविधानलाई सुधार गर्न पनि दुई दल मिल्नु परेको उनको भनाइ छ । संविधान सुधारका लागि दुई दलबीच गृहकार्य सुरु भइसकेको भन्दै कोइरालाले अन्य दलसँग मिलेर संविधान सुधार गर्नुपर्ने धारणा राखे । उनले अहिलेको गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने र कांग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७