डेढ दर्जन सहकारीका ऋणीलाई अन्तिम ‘अल्टिमेटम’


२०८१ कार्तिक १ बिहीबार ०९:०९ बजे

काठमाडौं । समस्याग्रस्त घोषित डेढ दर्जन सहकारी संस्थाका ऋणीलाई कर्जा चुक्ता गर्न १५ दिने ‘अल्टिमेटम’ दिइएको छ । समस्याग्रस्त १८ सहकारीबाट लिएको ऋण नतिर्नेहरुलाई सरकारले कालोसूचीमा राख्नेदेखि राहदानी रोक्कासम्म गर्ने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सूचना जारी गर्दै समस्याग्रस्त सहकारीबाट लिएको ऋण तत्काल नतिरे कारबाही प्रक्रिया अघि बढाउने जनाएको हो । समस्याग्रस्त सहकारीबाट ऋण लिएर नतिरेका कर्मचारी, व्यवस्थापक र अन्य ऋणीका नाममा कार्यालयले सूचना जारी गरेको हो ।

दायित्व रकम फिर्ता गर्न नआएमा ऋणी र ऋणीका एकाघरका परिवारको समेत सबै सम्पत्ति र बैंक खाता रोक्का राखिने भएको छ । त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले बचतकर्ताको रकम फिर्ता दिन नसकेका १० वटा सहकारीमा आफ्नो बचत रकम दाबी गर्न पनि सूचना जारी गरेको छ । यस्तो दाबी १५ दिनभित्र गर्नुपर्ने कार्यालयले जनाएको छ ।

समस्याग्रस्त १९ सहकारीमा ४० अर्ब बराबरको दायित्व छ । जसका लागि ६० हजार बचतकर्ताले रकम फिर्ता पाउँ भन्दै आवेदन दिएका छन् । तिर्नुपर्ने ४० अर्बमध्ये २० अर्ब रकम ऋण लगानीबाट उठ्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ । अहिलेसम्म २२ वटा सहकारी समस्याग्रस्त घोषणा भएकामा तीन वटा सहकारीको मात्रै बचत फिर्ता भएको छ ।

समितिले समस्याग्रस्त घोषित भएका स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेण्टल को–अपरेटिझ कञ्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न अन्तिम अवसर प्रदान गरेको हो । 

त्यस्तै, तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था, लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका ऋणीलाई पनि कर्जा चुक्ता गर्न भनेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७