२७२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

रुपन्देही । सशस्त्र प्रहरीले २७२ किलो ३३ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका सतनम सिंह छन् । उनलाई रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट मंगलवार कन्टेनरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरबाट सो परिमाणको गाँजा फेला परेको हो । रुपन्देहीस्थित २७ नम्बर गणका एसपी आनन्द थापामगरको टोलीले उनलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।