उम्मेदवारलार्इ आफ्नो सुरक्षा प्रति आफै सचेत रहन प्रमुख आयुक्त यादवको आग्रह


२९ कार्तिक २०७४, बुधबार
ayodhi prasad yadav निर्वाचन अायाेग

काठमाडौं : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेदवार एवं मतदातालाई आफ्नो सुरक्षा प्रति आफै सचेत रहन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले काठमाडौँमा बुधवार आयोजना गरेको ‘आमसञ्चार र निर्वाचन’ बिषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय सुरक्षामा देखिएको चुनौतीप्रति आयोग एवं सरकार सचेत रहेको बताउँदै प्रहरी प्रशासनको मात्रै भर नपर्ने आग्रह गरेकाे हाे ।

ayodhi prasad yadav निर्वाचन अायाेग
फाइल तस्बिर ।

‘पछिल्लो समय देखिएको सुरक्षा चुनौतीप्रति आयोग र सरकार दुवै गम्भीर छ, सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने विषयमा हाम्रो बिचमा छलफल निरन्तर जारी छ’ यादवले भने, ‘सुरक्षा व्यवस्था अझै दुरुस्त पारिनेछ सँगसँगै राजनीतिक दलका नेता, उम्मेदवार एवं मतदाताहरु आफ्नो सुरक्षा प्रति आफै पनि सचेत हुन जरुरी छ ।’

नेपाली जनताकै सहयोगमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताउँदै उनले नेपाली जनताकै सहयोगमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र एवं स्वच्छ रूपमा सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको छ ।

राजनीतिक दलका नेता एवं उम्मेदवारलाई लोकतान्त्रिक विधि प्रक्रिया भित्र रहेर निर्वाचन आचारसंहिताको पाल्ना गर्दै चुनावी प्रचारप्रसार गर्न आग्रह गर्दै यादवले निर्वाचन आचारसंहिताको उल्लंघन गर्नेलाई कडा कारबाही गरिने चेतावी समेत दिए ।

पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाका मतदान केन्द्रको व्यवस्थापन गर्ने तयारी पुरा भएको जानकारी दिँदै उनले प्रकृतिक समस्याले केही ठाउँमा समस्या देखिएकाले त्यसको समाधानका लागि निर्वाचन अधिकृतको सहयोगमा व्यवस्थापन गर्ने कार्य भइरहेको बताए ।

लोकतन्त्र एवं गणतन्त्रको स्थापनामा राजनीतिक दलका साथै सञ्चार क्षेत्र योग्दान महत्त्वपूर्ण रहेको स्मरण गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले यसको संरक्षण, प्रवद्र्धन एवं स्थायीत्वका लागि सञ्चार जगतको योगदान अझै आवश्यक रहेको बताए ।

निर्वाचन एवं सञ्चारको आचारसंहिता भित्रमा रहेर लोकतान्त्रिक गणतन्त्रको स्थायीत्वका लागि भईरहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं मर्यादित बनाउँन मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले प्रत्येक मिडिया निर्वाचनमै हुनुपर्ने आग्रह गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले राजनीतिमा आपराधिकरण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै राजनीतिक दल आफैले गरेको प्रतिबद्धता उल्लंघन गरिरहेको बताएका छन् ।

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै राजनीतिक दल एवं उम्मेदवारले बालबालिकालाई प्रयोग गरी पार्टीको झन्डा बोकाएर सभा, कार्यक्रममा सहभागी गराउँने गरेको बताए । निर्वाचन आयोगले तोकेको सीमाभन्दा बढी खर्च राजनीतिक दल तथा उम्मेदवारले गरिरहेको बताउँदै उनले यस विषयमा आयोग कारबाही नगरी मौन बस्नुले निर्वाचन आचारसंहिताको उल्लंघ बढदै गइरहेको बताए ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज, एक लाख जरिवाना गर्ने व्यवस्था भए पनि यस्तो कारबाही नभएकाले निर्वाचनको निष्पक्षतामै प्रश्न चिन्ह खडा भएको आयोग सदस्य पौडेलले बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन स्वच्छ रूपमा गराउँनका लागि अहिलेको प्रमुख चुनौती नै सुरक्षा भएको बताए । निर्वाचन आचारसंहिताको पाल्ना कडाईका साथ गर्नुपर्ने सुझाव दिँदै उनले उल्लंघन गर्नेलाई करवाही गर्नुपर्ने बताए ।

प्रजातान्त्रि विकास क्रममा सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले यसको स्थायीत्वका लागि भइरहेको निर्वाचनलाई सफल बनाउँन मिडियाको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष एवं स्वतन्त्र रूपमा सम्पन्न गर्न मिडियाले सकारात्मक भूमिका खेल्ने र समाचार रिपोटिङका लागि आयोगले सहज बनाउँनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७