निर्वाचनका बारेमा कुनै संशय नलिनुहोस् : प्रमुख निर्वाचन आयुक्त


११ कार्तिक २०७४, शनिबार
ayodhi prasad yadav निर्वाचन अायाेग

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढेको बेला विभिन्न खाले आशंका गरेर प्रश्न उठाउनु व्यावहारिक नहुने बताएका छन् ।

ayodhi prasad yadav निर्वाचन अायाेग

आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा आयोजित निर्वाचन र सुरक्षासम्बन्धी दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहमा उनले भने, “तोकिएकै मितिमा निर्वाचनलाई सफल तुल्याउन सम्पूर्ण व्यवस्थापकीय कार्य अघि बढाइसकिएको हुँदा निर्वाचनका बारेमा कुनै संशय नलिन आग्रह गर्दछु ।”

“निर्वाचनलाई अघि बढाउने सिलसिलामा सम्मानित सर्वाेच्च अदालतबाट आयोगलाई सहयोग र सावधानी गर्ने कार्य भएको छ, हामी त्यसप्रति उच्च सम्मान र आदर गर्दछौँ”–सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले भने ।

उनले निर्वाचन र सुरक्षा एउटा सिक्काको दुई पाटा हुन, स्वच्छ, स्वतन्त्र, र भयरहित निर्वाचनका लागि खटिएका सुरक्षा फौजबाट निष्पक्ष, तटस्थ र इमान्दारी प्रदर्शन गर्न आवश्यक रहेको बताए । निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहितरुपमा सफल तुल्याउन सुरक्षा निकायबीच समन्वय, सम्पर्क, सहयोग र सूचना आदान प्रदान गर्न निर्देशन दिए।

गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले निर्वाचनको संवेदनशीलतालाई बुझेर कुनै भूलचुक क्षम्य नहुने ढंगबाट जिम्मेवारी पुरा गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।   सो अवसरमा नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही र राष्ट्रिय अनुसन्धान विभागका उपप्रमुख गणेश अघिकारीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो सुरक्षा संगठनबाट तयार गरिएको सुरक्षा योजनाबारे जानकारी गराएको थियो ।

सुरक्षा र निर्वाचनसम्बन्धी आठ विषयमा गहन छलफल भएको उक्त प्रशिक्षणमा गृह र रक्षा मन्त्रालयका अतिरिक्त चारवटै सुरक्षा निकायका समेत गरी ६३ जना प्रशिक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७