बैतडीमा महिला उम्मेदवारी शून्य


१७ कार्तिक २०७४, शुक्रबार
baitadi district

बैतडी : प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बैतडीमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको छ ।

baitadi district

उम्मेदवारी दर्ता गराएकामध्ये कुनै पार्टीबाट पनि महिला उम्मेदवार नरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । राजनीतिक दलहरुले महिला नेतृत्वमाथि अझै पनि विश्वास गर्न नसकेका कारण महिलाको उम्मेदवारी नपरेको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताए ।

मुख्य राजनीतिक दलहरुले महिला नेतृत्वलाई स्वीकार गर्न नसकेकाले राष्ट्रिय राजनीतिमा महिलाको पहुँच पुग्न नसकेको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताए । राजनीतिक दलहरुले महिला नेतृत्वलाई विश्वास नगरेकै कारण महिलाको राष्ट्रिय राजनीतिमा पहुँच पुग्न नसकेको महिला अधिकारकर्मीले बताएका छन् ।

राज्यका हरेक निकायमा महिला ३३ प्रतिशत सहभागिता हुनुपर्ने कानून भए पनि नेपालमा यसो नभएको बैतडीका महिला अधिकारकर्मीले बताएका छन् ।

महिला अधिकार र सहभागिताका कुरा कागजमा मात्रै सीमित हुँदा महिलाको सहभागिता हुन नसकेका उनीहरुको भनाइ छ । आगामी मंसिरमा हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य भएकामा महिलाले आपत्ति जनाएका छन् ।

महिलालाई जहिले पनि कोटामा मात्रै सीमित पार्ने परिपाटीले महिलाको सहभागिता न्यून हुने गरेको महिला अधिकारकर्मी कान्ता चन्दले बताउनुभयो । बैतडीमा कुनै पनि पार्टीबाट प्रत्यक्षतर्फ महिला उम्मेदवारी शून्य हुनु दुःखको कुरा भएको उनले बताए । अझै पनि समाजमा पितृसत्तात्मक सोच हाबी भएकाले निर्णयात्मक भूमिकामा महिलालाई पछाडि पार्ने गरेको पार्वती भट्टले बताए ।

स्थानीय तहको चुनावमा पनि बैतडीका सबै तहमा महिला उपप्रमुख र उपाध्यक्षमा सीमित पारिएका थिए ।

स्थानीय तहको निर्वाचनमा १० तह रहेको बैतडीमा कुनै पनि तहमा महिलालाई प्रमुखमा टिकट दिइएन भने जिल्लामा रहेको ८४ वडामध्ये एकमा मात्रै महिलाले वडाध्यक्षको टिकट पाएका थिए ।

बैतडीमा तीन सिटमा लागि १२ जना प्रतिस्पर्धामा
प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना प्रतिस्पर्धामा रहेका छन् जसमध्ये प्रतिनिधि सभाको १ पदका लागि ५ जना उम्मेदवार बनेका छन् । प्रदेश सभाका लागि क्षेत्र नं १ मा एक पदका लागि पनि पाँचजना र क्षेत्र नं २ मा एक पदका लागि दुईजना भिडिरहेका छन् ।

प्रतिनिधि सभाका लागि नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट नरबहादुर चन्द, वाम गठबन्धनबाट दामोदर भण्डारी, विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा छन् ।

यस्तै, प्रदेश सभातर्फ क्षेत्र नं १ लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

यस्तै, प्रदेश सभाअन्तर्गत क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् । चुनावलाई लक्ष्य गरेर बैतडीमा सबै राजनीतिक दलहरुले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् । सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् ।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७