एनआरएनमा भट्ट र गुरुङको भिडन्त, को हुन् भट्ट र गुरुङ ?


३० आश्विन २०७४, सोमबार
NRNA

काठमाडौँ, ३० असोज :  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेका छन् । शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो ।

NRNA

सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ । एनआरएनको अध्यक्षका लागि आइतबार राति नै वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराए । अर्का उम्मेदवार गुरुङले भने आज बिहानमात्रै उम्मेदवारी दर्ता गराए । वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती रहेकी गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेन । भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गर्छन् । अध्यक्षका दाबेदार रहेका टिबी कार्कीले भने उम्मेदवारी दर्ता गराएनन् ।

को हुन् भट्ट ?

Bhawan Bhatta
कुनै बेला रेस्टुराँमा भाँडा माझ्ने भवन भट्ट अहिले जापानमा रहेका २९० होटल तथा रेस्टुराँका मालिक बनेका छन्। जो अध्ययनका लागि २० वर्षअघि जापान पुगेका थिए। अथक मेहनत र संघर्षको फल मिठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ। उनका रेस्टुराँमा अहिले ५ हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन्। सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी गोरखाबाट जापान गएका थिए।

जापान पुगेपछि उनले क्याम्पस समयबाहेक अरु समय दैनिक गुजाराका लागि पनि खट्न थाले। महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझेको उनी सुनाउँछन्। ‘घरमा काम नगरी हुर्केको मलाई भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो,’ उनले संघर्षका ती दिन सम्झिए, ‘यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो।

भाँडा माझ्दा अरुले भन्दा सफा गरी काम गर्नुपर्छ भन्ने लागेर धेरै मेहनत गरेको उनी बताउँछन्। उनको कामबाट प्रभावित भएपछि साहुले ५० येन बढाएर ७५० पुर्याइदिए। कामप्रतिको लगाव देखेर उनले पछि वेटरमा बढुवा गरिदिए। यसरी ६ वर्षसम्म फरकफरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न भट्ट सफल भएका हुन्। एउटै ठाउँमा काम गर्दा आलश्य र निराशा बढ्ने सोचेर दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरेको उनले सुनाए।

‘विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो,’ उनले भने, ‘सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना बनाउन थालेँ।’ जापान गएको ६ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ खरिद गरेका थिए। सुरुमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चलायमान बन्यो।

रेस्टुराँबाट आएको फाइदाको रकमबाट नजिकै अर्को रेस्टुराँ किने। यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गरिरहेका छन्। ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए। उनले नेपालमा पनि टिबिआई समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु २ अर्ब लगानी गरिसकेका छन्।

यस्तो छ भवन भट्टको अजेन्डा

एनआरएनले अहिलेसम्म लिएका निर्णय र पूरा हुन बाँकी रहेका काम सम्पन्न गर्ने उनले बताएका छन्। उनले गोरखाको लाप्राक नमूना बस्ती समयमा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने बताए। यसपछि दोलखामा अर्को नमूना बस्ती निर्माणका लागि काम अगाडि बढाउने उनको प्रतिबद्धता छ। एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, अतिथि देवो भवः लगायत कामलाई निरन्तरता दिने उनले बताएका छन्।

यसैगरी वैदेशिक रोजगार कोषको विस्तार गर्ने घोषणा गरेका छन्। अहिले कोषमा दुई करोड ५० लाख रुपैयाँ छ। उनले स्की कमिटिमार्फत नेपालको बौद्धिक पलायन रोक्न र बाहिरिएका बौद्धिक नेपालीलाई स्वदेश फर्काउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। भट्टले आफ्नो कार्यकालका लागि केही नयाँ एजेन्डा अगाडि सारेका छन्। वैदेशिक रोजगारी आपतकालीन कोषलाई सदुपयोग गरी संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बिमा गर्ने उनको उद्घोष छ। श्रम सहचारीलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने भएका छन्। यस्तै, महिला फोरमलाई सशक्त बनाउने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने उनले बताए। हरेक एनसीसीका एक विशेष परियोजनाको परिकल्पना गरेको र सामाजिक उद्यमशीलता प्रवद्र्धन गरी महिला तथा युवाको सहभागिता वृद्धि गर्ने उनको एजेन्डा छ।

को हुन् जमुना ?

Jamuna Ghale
विजनेश मार्केटिङ अध्ययनपछि उनी ब्यवसायमा सम्लग्न भएकी थिइन्। अष्ट्रेलियाको एमआइटी कलेजको उनी एक्जुकेटिभ डाइरेक्टर हुन् । अष्ट्रेलियाको महिला धनाढ्य सुचीमा उनी ७ औं नम्बरमा छिन् । वर्तमान अध्यक्ष शेष घलेको सपना पूरा गर्न र ‘भिजन २०२० एण्ड वियोण्ड’ को प्रस्तावलाई कार्यान्वयनमा ल्याउन घले पत्नी समेत रहेकी गुरुङको उम्मेदवारी आवश्यक रहेको भन्दै माग व्यापक रुपमा आएपछि अध्यक्षमा उम्मेदवारी दिने अन्तिम निर्णय भएको बताइन्छ ।

वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती रहेकी गुरुङ र भट्ट समूहबीच रातभर सहमतिका लागि प्रयास भए पनि टुंगोमा पुग्न सकेन । भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गर्छन्

वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहेकी जमुनाले उमेदवारी घोषणा गर्दै आफू अध्यक्षका लागि सक्षम रहेको बताएकी छिन् । उनले भनिन्, भनिन्, ‘अष्ट्रेलिया जस्तो प्रतिस्पर्धी समाजमा आफूलाई महिला उद्यमीका रूपमा उभ्याउन सफल भएँ । व्यवसाय वा समाज सेवामा म जहिल्यै पनि आफ्नै पहिचानमा उभिन रुचाएँ र अहिले पनि त्यही गरिरहेकी छु । उनले एनआरएनएका मुख्य सरोकारवालाको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला सशक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न, एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनालाई समयसीमा भित्र सम्पन्न गर्ने लगायतका एजेन्डा अघि सारेकी छिन् । उनले आफ्नो उमेदवारीको किन भन्नेबारे ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन् । हेर्नुहोस् उनको प्रतिबद्धताहरु :

१. गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पुरा गर्न
२. गैरआवासीय नेपाली संघका मुख्य स्टेकहोल्डरहरुको बिश्वास र अपेक्षालाई निरन्तरता दिन
३. महिला शसक्तिकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्न
४. गैरआवासीय नेपाली संघलाई समय सापेक्ष परिवर्तन र विकाश गर्दै सामूहिक नेतृत्वको अबधारणा अन्र्तगत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न
५. गैरआवासीय नेपाली संघलाई आर्थिक, सामाजिक, सांस्कृतिक एवं कुटनीतिक स्तरमा अझ पारदर्शीरुपमा विकाश गर्न
६. एनआरएनएले निर्माण गरिरहेका मेगा परियोजनाहरुलाई समयसीमा भित्र सम्पन्न गराउन
७. संस्थाको मार्गदर्शक दृष्टिकोण ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यन्वयन गर्न
८. एनआरएनएका हरेक एनसीसीलाई आर्थिक कुटनीतिकको भूमिका निर्वाह गर्न र नेपाललाई सम्बृद्धिको बाटोमा इटा थप्ने काममा प्रोत्साहित गर्न
९. नेपाल सरकारका बिभिन्न निकाय, सरकारी एवं गैरकारी संस्थासँग संघले गरेको सम्झौतालाई कार्यन्वयन गर्न
१०. बैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्यपूर्वका महिला श्रमिकबर्गको हितमा बढि केन्द्रीत हुन
११. गैरआवासीय नेपाली संघको दिगो विकाशलाई सुनिश्चित गर्न

काे काे छन् अरू उम्मेदवार ?

उपाध्यक्षमा चिरिञ्जीवी थापा, खगेन्द्र क्षेत्री, कुल आचार्य, सोनम लामा, कुमारप्रसाद पन्त, रविना थापाले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा रञ्जु थापा र सपिला राजभण्डारी, महासचिवमा अर्जुनकुमार श्रेष्ठ, डा बद्री केसी, यमकुमार गुरुङ (त्रिलोक), सचिवमा डिबी क्षेत्री, डा देवीबहादुर बस्नेत, गणेश केसी, ऋषिराम कँडेल, सन्तोषकुमार भट्टराई, कोषाध्यक्षमा हिक्मत थापा र मुक्षेत्र गुरुङ र सहकोषध्यक्षमा चक्रबहादुर थापा र सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन् । दिउँसो ४ बजेपछि मतदान शुरु हुने र मतगणना सम्पन्न भएको एक घण्टापछि मदतान शुरु हुने कार्यतालिका रहेको छ । विद्युतीय मतदान गरिने भएकाले मतपरिणाम आज राति नै आउने सम्भावना रहेको छ ।

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसेनिया र मध्यपूर्वका एक–एकजना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक–एकजना तथा युवा संयोजक र उपसंयोजक एक–एकजना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

सोमबार दिउँसोबाट मतदान हुनेछ । विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार अबेर रातिसम्म मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन, २०२० एण्ड वियोण्ड’ पारित गरेको छ । सम्मेलनमा भाग लिन करिब १ हजार ७ सय प्रतिनिधि काठमाडौँमा भेला भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७