लेबनानमा इजरायली सेनाको भीषण आक्रमण
लेबनानमा अहिलेसम्म ३ हजार ७ सयभन्दा बढीको मृत्यु
बेरुत : इजरायली सेनाले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेको केही समयभित्रै लेबनानका विभिन्न २० वटा स्थानमा भीषण हवाई आक्रमण गरेको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार इजरायली लडाकु विमानहरूले नबातियाह सहरसहित चेतावनी दिइएका रिहान र सुजुड गाउँलगायतका क्षेत्रहरूलाई निशाना बनाएर शृङ्खलाबद्ध बमबारी गरेका हुन्। इजरायली सेनाले गत महिना नै ती नदी दक्षिणका सम्पूर्ण क्षेत्रलाई 'युद्ध क्षेत्र' घोषणा गरिसकेको थियो।
आक्रमणअघि इजरायली सेनाले सूचना जारी गर्दै बासिन्दाहरूलाई तुरुन्तै घर खाली गर्न र इजरायलसँगको दक्षिणी सीमाबाट करिब ४५ किलोमिटर टाढा रहेको जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। शुक्रबार राति अली ताहेर पहाड नजिकै भीषण विस्फोट तथा गोलाबारी भएको रिपोर्ट सार्वजनिक भएको छ। यता, दक्षिण लेबनानमा आक्रामक रूपमा अघि बढिरहेको इजरायली सेनामाथि आफूहरूले पनि निरन्तर प्रतिरोध गरिरहेको हेजबुल्लाहले जनाएको छ। हेजबुल्लाहका लडाकुहरूले मजदल जोन सहरतर्फ अघि बढिरहेका इजरायली सैनिकको डटेर सामना गरिरहेको बताएका छन्।
लामो समयदेखि जारी यस युद्धमा इरान समर्थित समूह हेजबुल्लाहले अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायली भूमिमा रकेट प्रहार गरेपछि यो द्वन्द्व थप चर्किएको हो। इजरायलले आफ्नो सैन्य अभियानलाई निरन्तरता दिँदा लेबनानमा अहिलेसम्म ३ हजार ७ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको आधिकारिक तथ्याङ्क छ।
यसअघि अप्रिल महिनामा भएको युद्धविरामलाई दुवै पक्षले नजरअन्दाज गरेका थिए भने वासिङ्टनमा लेबनानी–इजरायली प्रत्यक्ष वार्ताको चौथो चरणपछि यसै महिना घोषणा गरिएको सशर्त युद्धविराम सम्झौता पनि कार्यान्वयनमा आउन सकेको छैन। हेजबुल्लाहले इजरायललाई लेबनानबाट सेना फिर्ता लिन र आक्रमण रोक्न भनिएको उक्त सशर्त सम्झौता र प्रत्यक्ष वार्ता दुवैलाई अस्वीकार गरेपछि कुनै उल्लेख्य उपलब्धि हुन सकेको छैन।
यसैबीच, एक वरिष्ठ अमेरिकी अधिकारीले लामो समयदेखि जारी मध्यपूर्व युद्धको स्थायी अन्त्यका लागि लेबनान जुनसुकै सम्झौतामा पनि सहभागी हुनुपर्ने बताएका छन्। तर, लेबनानका नेताहरूले भने तेहरान (इरान) ले लेबनानलाई केवल "मोलतोल गर्ने वस्तु" को रूपमा व्यवहार गरेको आरोप लगाएका छन्। हेजबुल्लाहका सांसद अली फयादले शनिबार लेबनानलाई इरान युद्ध अन्त्य गर्नका लागि कुनै पनि सम्झौताको फाइदा लिन आग्रह गरेका छन्। यता, लेबनानका राष्ट्रपति जोसेफ आउनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत देशले हाल एक "दुर्भाग्यपूर्ण र कठिन परीक्षा" को सामना गरिरहेको उल्लेख गरेका छन्।
.gif)

.png)

