इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी, कोषाध्यक्ष बाहेक सबै निर्विरोध
काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समितिले जनाएको छ। संस्थाको विद्यमान विधानअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष रहेका डाँगी स्वतः अध्यक्ष पदमा चयन भएका हुन्।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन्।
संस्थाको प्रशासनिक नेतृत्व सम्हाल्ने महत्त्वपूर्ण महासचिव पदमा टेकनाथ आचार्य (टिएन आचार्य) र उपमहासचिवमा कविता पोखरेल निर्विरोध चयन भएका छन्। त्यस्तै, सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।
धेरैजसो पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो। कोषाध्यक्ष पदमा शङ्कर बस्याल २ सय ६७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत मात्र प्राप्त गरे।
यता खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको हकहित र नेपालको जलविद्युत विकासमा नीतिगत पैरवी गर्ने प्रतिबद्धता जनाएको छ।
.gif)

.png)

