खाडीको पसिना सम्झेर गाउँमै मेहनेत, दैनिक ३५ हजारको दूध बेच्छन् सुरेश
सुरेशको फार्म मा अहिले ४५ वटा गाईभैँसी छन्, यी उन्नत जातका गाईभैँसी दैनिक ३०० लिटर दूध उत्पादन हुन्छ ।
म्याग्दी (बेनी), २६ जेठ वैदेशिक रोजगारीको लामो अनुभवलाई त्यागेर आफ्नै जन्मभूमिमा पसिना बगाउने हो भने सोचेजस्तै सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका एक युवाले प्रमाणित गरेर देखाएका छन् । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गानाले गाईभैँसी पालनबाट लोभलाग्दो सफलता प्राप्त गरेका हुन् । करिब एक दशक लामो समय खाडी मुलुकमा श्रम गरेर विसं २०७२ मा स्वदेश फर्किएका सुरेशले वैदेशिक रोजगारलाई पूर्ण रूपमा बिट मार्दै पशुपालन सुरु गरेका थिए । सुरुमा एउटा गाई र एउटा भैँसीबाट व्यावसायिक यात्रा थालेका उनी अहिले जिल्लाकै अग्रणी र सफल कृषकका रूपमा स्थापित भइसकेका छन् ।
सुरेशले सञ्चालन गरेको ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ मा अहिले ४५ वटा माउसहित साना-ठूला गरी जम्मा ५० वटा गाईभैँसी रहेका छन् । उनको फार्ममा विशेष गरी उन्नत जातका मुर्रा भैँसी तथा होलस्टेन र जर्सी गाई पालिएका छन् । यी उन्नत जातका चौपायाबाट अहिले दैनिक ३०० लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूध बेनी बजारकै धौलागिरि डेरी उद्योगले प्रतिलिटर १२० रुपैयाँका दरले सहजै खरिद गर्ने गरेको छ । बजार र उद्योग फार्मबाट नजिकै रहेकाले सुरेश आफैँले मोटरसाइकलमा क्यान राखेर दूध ढुवानी गर्ने गर्छन् । दैनिक रूपमा करिब ३५ हजार रुपैयाँ बराबरको दूध बिक्री हुने भएकाले उनलाई बजारको कुनै समस्या छैन ।
पशुपालनको यो व्यवसायबाट सुरेश आफैँ स्वरोजगार र आत्मनिर्भर मात्र बनेका छैनन्, बरु गाउँका अन्य ५ जना स्थानीयलाई नियमित रोजगारी समेत दिएका छन् । उनको फार्ममा ३ जनाले आवासीय रूपमा र २ जनाले दैनिक ज्यालादारीमा काम पाइरहेका छन् । आफ्नै पुर्ख्यौली जग्गामा फार्म सुरु गरेका सुरेशले यसैको कमाइबाट थप जग्गा किनेर फार्मको क्षमता विस्तार गरिसकेका छन् । भौतिक पूर्वाधार र गाईभैँसी खरिदमा मात्रै उनको साढे दुई करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । दूधका साथै फार्मबाट उत्पादित गोबर मल बिक्री गरेर पनि उनले थप आम्दानी गरिरहेका छन् ।
बिहान १ बजेदेखि नै दुहुन सुरु गर्ने र व्यवस्थित समयतालिका अनुसार काम गर्ने सुरेशको यो फार्म अहिले जिल्लाकै एउटा नमुना सिकाइ केन्द्र बनेको छ, जहाँ विभिन्न ठाउँका कृषकहरू अवलोकनका लागि आउने गर्छन् । उनको यो मेहेनतलाई कदर गर्दै विसं २०८० मा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले उनलाई पुरस्कृत समेत गरेको थियो । स्थानीय बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमका अनुसार यो फार्म जिल्लाकै उत्कृष्ट फार्म हो । नगरपालिकाले उनलाई प्राविधिक सहयोग, औषधि उपचारका साथै विगत तीन वर्षदेखि उत्पादनमा आधारित अनुदान समेत उपलब्ध गराउँदै आएको छ । अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा भविष्य खोज्नुपर्ने सुरेशको यो व्यावसायिक क्रान्ति अन्य युवाहरूका लागि पनि ठूलो प्रेरणाको स्रोत बनेको छ ।
.gif)

.png)

