इजरायलमाथि इरानी हमला, पश्चिमी हवाई क्षेत्र बन्द
इजरायली प्रधानमन्त्रीलाई फोन गरेर जवाफी हमला रोक्छु: ट्रम्प
काठमाडौँ : लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको सैन्य आक्रमणको जवाफमा इरानले इजरायली भूमिलाई निशाना बनाउँदै क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले यो प्रहार इजरायलका लागि केवल 'प्रारम्भिक चेतावनी' मात्र भएको स्पष्ट पारेको डीडब्ल्यूले उल्लेख गरेको छ ।
इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा स्थितिको मूल्यांकन गर्दै अर्को सूचना नआएसम्मका लागि देशको पश्चिमी भेगको आकाश पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएका छन् । यसैबीच, क्षेत्रमा बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै छिमेकी मुलुकहरू इराक र सिरियाले पनि आ-आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन् ।
इरानी सेना (आईआरजीसी) ले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायलले आफ्ना आक्रामक गतिविधिहरू जारी राखेमा मध्यपूर्व क्षेत्रभरि रहेका अमेरिकी तथा इजरायली सैन्य र रणनीतिक ठेगानाहरूलाई मुख्य निशाना बनाइने चेतावनी दिएको छ । इरानको खातम अल–अम्बिया सेन्ट्रल कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले इजरायलले तत्काल दक्षिणी लेबनान र बेरुतका उपनगरहरूमा गरिरहेको बमबारी रोक्नुपर्ने बताएका छन् । उनले इजरायलले इरानको यस कदमको जवाफ फर्काउन खोजे वा सैन्य कारबाही विस्तार गरे अझ विनाशकारी र कहिल्यै निको नहुने खालको क्षति बेहोर्नुपर्ने चेतावनी समेत दिएका छन् ।
यसैबीच, इजरायली सेनाले इरानबाट भएका दुई चरणका क्षेप्यास्त्र आक्रमणहरूलाई आफ्ना हवाई रक्षा प्रणालीले सफलतापूर्वक निस्तेज पारेको दाबी गरेको छ । सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत विज्ञप्ति जारी गर्दै इजरायली सेनाले इरानबाट प्रहार गरिएका सबै क्षेप्यास्त्रहरूलाई बीचमै रोकिएको र सम्भावित थप खतरासँग लड्न रक्षा प्रणालीहरू निरन्तर उच्च सतर्कताको अवस्थामा राखिएको जनाएको छ । सेनाले नागरिकहरूको सुरक्षाका लागि आफ्ना अत्याधुनिक एन्टि-मिसायल प्रविधिहरू पूर्ण रूपमा सञ्चालनमा रहेको समेत स्पष्ट पारेको छ ।
बीबीलाई फोन गरेर जवाफी हमला रोक्छु: ट्रम्प
मध्यपूर्वमा बढ्दो यो सैन्य तनावलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई थप उत्तेजित नहुन र संयमता अपनाउन आग्रह गरेका छन् । अनलाइन समाचार माध्यम एक्सियोससँगको संक्षिप्त अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इजरायललाई थप जवाफी कारबाही नगर्न आफूले सुझाव दिने बताएका हुन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको उपनाम उल्लेख गर्दै ट्रम्पले भनेका छन्, 'म अहिले नै बीबीलाई फोन गरेर जवाफी कारबाही अघि नबढाउन भन्नेछु ।' दुवै पक्षले आ-आफ्नो तर्फबाट आक्रमण गरिसकेकाले अब यो शृङ्खला रोकिनुपर्ने धारणा राख्दै ट्रम्पले यदि इजरायलले फेरि हमला गरेमा यो प्रतिशोधको चक्र विगत ४७ वर्षदेखि जस्तै निरन्तर चलिरहने र क्षेत्र कहिल्यै शान्त नहुने चिन्ता व्यक्त गरेका छन् ।
.gif)

.png)

