लिङ्देनले बर्खास्त गरेका गिरी पुगे निर्वाचन आयोग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षबाट बर्खास्त गरेका मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् । आफूलाई हटाउने राप्रपाको निर्णय विधानविपरीत रहेको भन्दै गिरीले आज (आइतबार) आयोगमा उजुरीका लागि पुगेका हुन् ।
प्रवक्ताबाट कारबाही गरिएका सगुन लावतीसँगै गिरी आयोग पुगेका हुन् । अध्यक्ष लिङ्देनले गिरीलाई शुक्रबार उपाध्यक्षबाट हटाएका थिए । यसअघि अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदी गत साता निर्वाचन आयोग पुगेका थिए ।
पछिल्लो समय राप्रपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । महामन्त्री धवलशमशेर राणा पक्षले अध्यक्ष लिङ्देनले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै आएको छ । निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्ती शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।