एमाले पोलिटब्युरो वैठकबाट विधान संशोधन प्रस्ताव पारित

हट्यो ७० वर्षे उमेर हद, विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’


२०८२ श्रावण ३ शनिबार २०:२३ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेर हदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिए । ‘विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ ।

सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भने ।

एमालेले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । दुई दिन बसेको पार्टीको पोलिटब्युरो बैठकले विधानमा रहेको उमेर हदसम्बन्धी व्यवस्था खारेज गर्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त जानकारी दिएका हुन् । उनका अनुसार, बैठकले विधानको धारा ६४ मा रहेको उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्तावलाई स्वीकार गरेको छ ।

बैठकमा जिल्ला कमिटीलाई हालको राजकीय संरचनाअनुसार कार्यकारी कमिटीको रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको गौतमले जानकारी दिए । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय बैठकमा उठे पनि हाललाई कुनै निर्णय नभएको गौतमले बताए ।

उनका अनुसार, पार्टी विधानको धारा ८ र ९ अनुसार राष्ट्रपति जस्तो गरिमामय पदबाट अवकाश पाएको व्यक्तिको सक्रिय राजनीतिमा पुनरागमन र सदस्यताको प्रक्रियाबारे गम्भीर छलफल आवश्यक देखिएकोले यो विषय हाललाई ‘पेन्डिङ’ मा राखिएको हो ।

‘राष्ट्रपति पदको गरिमा र हाम्रो प्रणालीमा यसले पार्ने प्रभावबारे विभिन्न कोणबाट छलफल भयो,’ गौतमले भने, ‘यस विषयमा पार्टीले उचित समयमा आवश्यक परामर्श र छलफलपछि ठूलो फोरमबाट निर्णय लिनेछ ।’

उनले पूर्व राष्ट्रपति भण्डारी, कांग्रेस नेता शेखर कोइराला र माओवादी अध्यक्ष ‘प्रचण्ड’ बीच नयाँ समीकरणबारे छलफल भएको भन्ने बाहिर आएका हल्लाहरूमा कुनै सत्यता नभएको र बैठकमा यसबारे कुनै चर्चा नभएको स्पष्ट पारे ।

पोलिटब्युरो बैठकले पारित गरेका विधान संशोधन सम्बन्धी यी प्रस्तावहरूलाई अब साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा पेस गरिनेछ । केन्द्रीय कमिटीबाट पारित भएपछि सुझावका लागि तल्ला कमिटीहरूमा पठाइने र त्यसपछि विधान महाधिवेशनले अन्तिम टुङ्गो लगाउने एमालेले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७