लिची बगैंचा प्रकरण

लामाको सदस्यता नविकरण रोक, मन्त्री अधिकारीलाई पदमुक्त गर्न माग


२०८२ श्रावण ३ शनिबार २०:०४ बजे

पोखरा । पोखराको लिची बगैंचा हत्याउने प्रपञ्चमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पनि छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गर्ने नेकपा एमाले कास्कीले निर्णय गरेको छ ।

पोखरा महानगरपालिका–१६ स्थित १३५ रोपनी लिची बगान हत्याउने प्रपञ्चका बिचौलिया सुजन लामालाई नेकपा (एमाले) कास्कीले पार्टी सदस्यबाट हटाएको छ । लामा एमाले गण्डकी प्रदेश कमिटीको सल्लाहकार समिति सदस्य हुन्। उनी सत्तारुढ एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अध्यक्ष समेत हुन् ।

जिल्लाको बैठकले घुस प्रकरणमा जोडिएका सबै मन्त्रीलाई राजीनामा गराएर अनुसन्धान गर्नुपर्ने र दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै निर्णय नै गरिएको एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताएका छन् ।

जग्गा हडप्ने प्रकरणमा मालपोत कर्मचारीका विषयमा घुस ‘डिल’ गरेको अडियो बाहिरिएपछि राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । चर्को दबाबपछि उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका हुन् ।

यही प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको पनि नाम मुछिएको छ । गुप्ताले राजीनामा दिए पनि अधिकारी मन्त्री पदमा बहाल नै छन् ।

कास्की एमालेका नेताहरूले अधिकारीलाई समेत पदमुक्त गर्न माग गरेका छन् । आज –शनिबार) पोखरामा आयोजित एमाले जिल्ला र पालिका पदाधिकारी तथा जनवर्गीय संगठनको भेलामा बोल्नै अधिकांश नेताले मन्त्री अधिकारीलाई पदमुक्त गर्न माग गरेका हुन् ।

एमाले कास्कीले लामाको सदस्यता नवीकरण रोकेको छ । असार मसान्तसम्मको समय थियो नवीकरणको लागि । एमाले कास्कीका सचिव दर्शन लामाले भने, ‘हामी पदाधिकारी बसेर सदस्यता नै नवीकरण नगर्ने निर्णय गरेका हौँ ।’ लामाको सदस्यता पोखरा–२५ बाट थियो ।

कास्कीको भूमि आयोगको नेतृत्व आफ्ना मान्छेलाई दिलाउन लामा सक्रिय रूपमा लागेको खुलेको छ । लामाले जिल्लाबाट नै खेम पुनलाई मात्र एकल सिफारिस गर्न दबाब दिएका थिए । कास्की एमालेबाट सम्भव नभएपछि उनले आफू सदस्य रहेको प्रदेश कमिटीमार्फत पुनको नाम एकल सिफारिस गराएका थिए ।

गुप्तासँगको उक्त अडियोमा पनि प्रस्ट रूपमा प्रदेश कमिटीबाट पुनको एकल नाम सिफारिस गरिएको भन्ने सुनिन्छ । मन्त्री अधिकारीबाट पुनलाई नै नियुक्त गर्न लगाउन भनेर लामाले गुप्तासँग डिल गरेका थिए । लामा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७