पार्टीमा यान्त्रिक होइन, विश्वासिलो एकता आवश्यक : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेको जारी पोलिटव्युरो बैठकमा पूर्वमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटा मध्यमार्गी धारणा राखेका छन् । आज (शनिबार) को बैठकमा आफ्नो धारणा राख्दै बास्कोटाले पार्टीमा यान्त्रिक एकता होइन विश्वासिलो एकता आवश्यक रहेको बताएका छन् ।
यसअघिको सचिवालय वैठकदेखि नै एमालेका नेताहरु प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र एमाले राजनीतिमा पुनः सक्रिय भएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा विभाजित भएर धारणा राखिरहेका बेला खरो र खुलस्दै बोल्ने नेताका रुपमा चिनिएका बाँस्कोटा भने मध्यमार्गी सुनिएका छन् ।
बाँस्कोटाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भमा समेत राजनीतिक विषय भएकाले राजनीतिक ढंगले डिल गर्न सुझाव दिएको बैठकका सहभागी एक नेताले जानकारी दिएका छन् । बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति भण्डारीबीचको सहकार्य र सौहार्दता दुनियाँलाई थाहा भएको हुनाले यसलाई झटारो हानेर होइन राजनीतिक ढंगले सुल्झाउन आग्रह गरेका छन् ।
बैठकमा बास्कोटाले भने, ‘अध्यक्ष र पूर्व राष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेजनलाई मात्र होइन दुनियाँलाई थाहा छ । तपाईहरु आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्, प्राविधिक कुराले होइन । दोस्रो पुस्ताका हौं भन्नेहरुले मिलाउने क्षमता देखाउनुस्, तपाईहरुसँग त हामी पनि प्रतिस्पर्धा गर्न सक्षम र तयार छौं । पार्टीमा यो बेला यान्त्रिक होइन ट्रष्टफूल एकताको खाँचो छ । यस्तो विषयमा झटारो हान्ने काम नगरौं ।’ पोलिटव्युरो सदस्य बास्कोटाले ७० वर्षे उमेर हदलाई विगतमा सैद्धान्तिक विषय बनाइएको बताएका छन् ।