जङ्गलमा अर्काकी श्रीमतीको हत्या गरी फरार युवक पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा हराएको झण्डै पाँच महिनापछि मण्डनदेउपुर नपा–११ की ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा फेला परेको छ । लामाको हत्या अभियोगमा प्रहरीले धुलिखेल नपा–६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
लामा गत असोज १५ गतेदेखि हराएकी थिइन् । सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान राइफल लामाले प्रहरीमा खोजविनका लागि निवेदन दिएका थिए । निशाको कङ्काल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा भेटिएको हो ।
निशाको कङ्कालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कङ्काल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गरेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिएका छन् । उनका अनुसार निशाका श्रीमान लामाले रन्जितकारविरुद्ध आज जाहेरी समेत दर्ता गराएका छन् । प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ ।
रञ्जितकारले भने निशाले आफूलाई ‘जबरजस्ती करणीको अभियोग’ मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशिल अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । निशाका दुई छोरा र एक छोरी छन् ।