केबलकार विवादमा रामहरि खतिवडा : विकासको काम कुनै वहानामा रोक्न मिल्दैन
‘अहिले बाहिरी मान्छेले राजनीति गरे’

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ताप्लेजुङको धार्मिकस्थल निर्माण भइरहेको पाथीभरा केबलकारविरुद्धको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । उनले विकास निर्माणको कार्य कुनै पनि बहानामा रोक्न नमिल्ने बताएका छन् ।
आज (बिहीबार) गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरुबीच भएको छलफलपछि कुरा गर्दै उनले विकास निर्माणका काम कुनै पनि बहानामा कसैले रोक्न नमिल्ने बताए । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा उनले जोड दिए ।
सांसद खतिवडाले केबलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभइ बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए । ‘विकास निर्माणका काम अवरुद्ध गर्न मिल्दैन, जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका माग के–के छन्, स्थानीय तहमा सम्बोधन हुनुपर्यो । स्थानीय तहका मान्छेलाई बाहिरका मान्छेले उचालेर, स्थानीयभन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ ।’ सबै पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ ।