फुङ्लिङमा गुराँसले लोभ्याउँछ पर्यटक

ताप्लेजुङ । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावित अवसर पनि हो । हरेक वर्ष जस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् ।
समुद्र सतहबाट तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल आसपासका क्षेत्रमा गुराँस फुलेर वनजङ्गल राताम्य देखिन्छन् । यसले प्रकृति प्रेमीलाई लोभ्याउँछ, बरु पर्यटन उद्योग समेतमा सकारात्मक प्रभाव पार्छ । गुराँस फुल्ने मौसममा व्यापार बढ्ने स्थानीयको भनाइ छ । गुराँस हेर्नका लागि मानिस टाढा–टाढाबाट आउँछन् । यहाँ आउनेहरू गुराँससँग रमाउने मात्र नभई सोही कारणले व्यवसायलाई पनि टेवा पुगेको छ ।
गत वर्ष भन्दा यस वर्ष केही समय छिटो गुराँस फुलेको फुङ्लिङ नगरपालिका–७ का एलबी राईले बताए । गुराँस फुल्न थालेपछि सामाजिक सञ्जाल पनि रङ्गीन बन्न थालेका छन् । मानिसले गुराँससँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा चर्चित बन्दै गएका छन् । कतिपय पर्यटक यहाँ गुराँस हेर्न मात्र होइन, प्राकृतिक सौन्दर्यसँग रमाउन पदयात्रा गर्न रुचाउँछन् । यस्ता गतिविधिले पाथीभरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको स्थानीय बताउँछन् ।
गुराँस सुन्दरता प्रदर्शनका लागि मात्र सीमित छैन । यसका औषधीय गुण पनि छन् । गुराँसका पात, बोक्रा र फूललाई विभिन्न औषधिमा प्रयोग गरिन्छ । स्थानीयस्तरमा गुराँसको अचार, सर्वत, रक्सी उत्पादन गरेर आर्थिक गतिविधि बढाउने पहल भइरहेको छ । ताप्लेजुङमा विगतका तुलनामा अलिक छिटै गुराँस फुल्नथालेका फुङ्लिङ–९ का स्थानीय लेकाली कान्छा मुक्कुमले बताए । गुराँसलाई अझ व्यवस्थित ढङ्गले संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिने मुक्कुमले बताए । सरकार तथा सरोकार भएका निकायले गुराँस उद्यान स्थापना गरी यसको व्यावसायिक उपयोगमा जोड दिनुपर्नेमा उनले जोड दिए ।
नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये ताप्लेजुङ, तेह्रथुम र सङ्खरसभा जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के २८ प्रजातिका पाइन्छन् । ताप्लेजुङको पाथीभरा क्षेत्रमा २६ प्रजातिको गुराँस पाइने तथ्याङ्क रहेको संरक्षण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका हिमाली संरक्षण मञ्च संस्थाका कार्यक्रम संयोजक रमेश राईले बताए । ‘पाथीभरा क्षेत्र गुराँससँगै पर्यटनका लागि उत्कृष्ट सम्भावना बोकेको गन्तव्य बन्न सक्छ । यहाँको प्राकृतिक सौन्दर्य, विशेष गरी वसन्त ऋतुमा फुल्ने गुराँसका विभिन्न प्रजाति, पर्यटकलाई लोभ्याउने प्रमुख तत्व हुन सक्छन्’, उनले भने । स्थानीय निकाय, पर्यटन व्यवसायी, तथा सरकारको सहकार्यमा प्रभावकारी प्रचारप्रसार, पूर्वाधार विकास र दिगो पर्यटन रणनीति लागू गर्न सकियो भने यो क्षेत्र गुराँस पार्कको रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाइ छ । रासस