नेविसंघ मोरङ : देउवा पक्षकाले कुटे शेखर निकटका जिल्ला सभापति

मोरङ । सत्तारुढ नेपाली कांग्रेस निकट विद्यर्थी संगठनका दुई समूहबीच विराटनगरमा झडप भएको छ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।
झडपमा परेर नेविसंघ सभापति सरोज पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहालसहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए ।
क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले बञ्चरो, तरवार र लाठीले प्रहार गरेको हो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहारीले जनाएको छ । कुट्ने र कुटाइ खाने दुवै नेविसंघकै नेता हुन् । तर, उनीहरूको गुट फरक छ । कुट्ने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्ष र कुटिने पोखरेल डा. शेखर कोइराला पक्षका हुन् ।